विराटनगर । कोशी प्रदेशको विभिन्न ठाउँमा बाढीपहिरोमा परी जीवन गुमाउनेको संख्या ८ पुगेको छ । बाढी पहिरोमा अझै २८ जना बेपत्ता छन् । १८ जनाको उद्धार गरिएको स्थानीय प्रशासन र प्रहरीले जनाएका छन् ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार खोलाले बगाएर भोजपुर र सङ्खुवासभामा १÷१ जना पुरुषको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा ५ जना रहेका छन् । पाँचथरमा १ पुरुष र १ बालिका तथा ताप्लेजुङमा ३ जना पुरुष पहिरोमा पुरिएर मृत्यु भएको छ ।
पहिरोमा पाँचथरमा ४र ताप्लेजुङमा ३ जना बेपत्ता छन् । खोलाले बगाएर बेपत्ता हुनेको संख्या २१ जना रहेको छ । सङ्खुवासभामा १८ पुरुष र ३ जना महिला बेपत्ता भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १५ पुल क्षतिग्रस्त भएका छन् । १७ स्थानमा सडक अवरुद्ध बनेको छ । ५ वटा हाइड्रोमा क्षति पुग्नुको साथै ५४ परिवार विस्थापित भएका छन् । ३ वटा सवारी साधन बाढीले बगाएको छ । बाढी–पहिरोले ३२ वटा भवन तथा घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । २२ घरमा आंशिक क्षति पुगेको छ ।
विभिन्न स्थानमा गरी हालसम्म बाढी र पहिरोमा परी ७४ चौपाया तथा ८४ पशुपंक्षी मरेका छन् । हालसम्म पहाडी जिल्लाको ४० रोपनी जग्गा बाढीले बगाएको छ । पाँचथरको याङबरक १ फेदी गाउँमा बाढी तथा पहिरोमा फसेका १२ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । उनीहरुलाई फेदी गाउँबाट स्थानीय च्याङथापु बजारमा स्थानान्तरण गरिएको पाँचथरका प्रहरी प्रमुख डिएसपी हरि खतिवडाले जानकारी दिनुभएको छ ।
बाढीपहिरोमा फसेका याङबरक १ का नरमाया गुरुङ, सन्दीप गुरुङ, हिमा गुरुङ, कृष्ण गुरुङ, जितमाया गुरुङ, काजी गुरुङ, सुनिता गुरुङ, मनकुमारी गुरुङ, सुष्मा गुरुङ पदमबहादुर गुरुङ र मनमाया खालिङको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हेवा बाढीका कारण शनिबार मध्यरातदेखि हराइरहेकी हिलिहाङ गाउँपालिका – ७ माझीटारकी एलिशा गुरुङको शव भेटिएको छ । उनको शव धनकुटा– ५ छथरजोरपाटीस्थित तमोर नदीको किनारमा फेला परेको हो ।