काठमाडौं । चार राजनीतिक दल सम्मेलित समाजवादी मोर्चा, नेपाल घोषणा भएको छ । राष्ट्रियसभा गृहमा कार्यक्रमको आयोजना गरी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताले मोर्चा घोषणा गरेका हुन् ।
मोर्चामा सम्मेलित चार दलले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरेर ऐक्यबद्धता जनाएका छन् । समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी छन् । सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ ।
मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चा कसैप्रति लक्षित नरहेको बताउनुभयो । अध्यक्ष दाहालले हतारमा पार्टी एकता गरेर व्यवहारमा सफल गर्न नसकेको विगतलाई समीक्षा गर्दै एकता र स्वतन्त्रताको द्वन्द्वात्मक बाटोबाट समाजवादी मोर्चा जन्मिएको बताउनुभयो । उहाँले देशलाई फेरि निरंकुशतातिर फर्काउन चाहनेविरुद्ध मोर्चाले नयाँ ढंगबाट क्रान्ति गर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मोर्चा बनाएर कसैलाई दवाब दिन नखोजेको बताउनुभयो । यस प्रगतिको पक्षमा नहुने, अग्रगमनको पक्षमा नहुने, परिवर्तनको पक्षमा नहुनेहरू नै यस मोर्चाबाट तर्सिने पनि उहाँले बताउनुभयो ।
पूर्वप्रधानमन्त्री नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा मात्र नबनाउन नेताहरुलाई आग्रह गर्नुभयो । उहाँले देशभरका वामपन्थी, समाजवादी र क्रान्तिकारीहरुलाई एकतावद्ध नगरेसम्म देशमा सही विकल्प निर्माण हुन नसक्ने बताउनु भयो ।
घोषणा सभालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीलाई समाजवादी मोर्चादेखि नतर्सिन आग्रह गर्नु भयो । ओलीप्रति संकेत गर्दै उहाँले केही दिनदेखि मिडियामा बरबराउन थालेको भन्दै मोर्चासँग तर्सिन नपर्ने बताउनु भएको हो ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशले संकट व्यहोरिरहेको अवस्थाबाट प्रतिगामी र पश्चगामी शक्तिलाई फाइदा उठाउन नदिन समाजवादी मोर्चा गठन गरिएको बताउनुभयो । उहाँले नेपालको स्वाधीनता जोगाउन नयाँ लडाइ अघि बढाउनुपर्छ भन्ने उद्देश्यले घोषणा भएको समाजवादी मोर्चा नेपालको राजनीतिमा नयाँ मोड दिने जिकिर गर्नुभयो ।
मोर्चाको अवधारणापत्रमा आन्तरिक र बाह्य लगानीमैत्री वातावरण निर्माण गरी देशलाई औद्योगिकीकरण गर्ने, वैदेशिक रोजगारीबाट पूँजी र प्रविधिसहित फर्केका नेपालीलाई देशभित्र रोजगारमूलक व्यवसाय गर्न प्रोत्साहित गर्ने र उत्पादनका क्रियाकलाप वृद्धि गरी रोजगारी प्रदान गर्ने र गरिबी उन्मूलन र रोजगार प्रवर्द्धनको क्षेत्रहरूमा लगानी बढाउन तीनवटै तहको सरकारलाई क्रियाशील बनाउने उल्लेख छ । दैनिक कार्यसञ्चालनका लागि एउटा सचिवालय गठन गर्नेछ ।
घोषणापत्रको पूर्ण बिवरण