काठमाडौं । सरकारले अपराधीलाई संरक्षण गरेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने न्याय माग्न सर्वोच्च अदालत पुग्नुभएको छ ।
उपप्राध्यापक चलाउने आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध रिट लिएर बुधबार सर्वोच्च पुग्नुभएको हो । उपप्राध्यापक चलाउनेले पेश गर्नुभएको सरकारको निर्णयविरुद्धको रिट सर्वोच्चले दर्ता गरेको छ । चलाउनेको रिटमा सवोच्चले बिहीबारको लागि पेशी तोकेको छ ।
चलाउनेको रिटमा मुद्दा फिर्ता लिने सरकारको निर्णय कानुनसम्मत नभएको उल्लेख गरिएको छ । मुद्दा फिर्ता लिएर अपराधीलाई संरक्षण गरेको भन्दै रिटमा सरकारको निर्णय बदर गर्न माग गरिएको छ ।
उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते मा विश्वविद्यालयस्थित नेपाल विद्यार्थी संघका अध्यक्ष हरिप्रसाद आचार्य र योगेन्द्र रावलको योजनामा सांघातिक आक्रमण भएको थियो । विश्वविद्यालय परिसरमै भएको आक्रमणमा रूपेश साह, नीरज रानामागर, सयुस भनिने सयुज श्रेष्ठ र दीपकराज ओझा संलग्न थिए । चलाउनेलाई उनीहरुले बाँसका भाटाले टाउको, शरीर, हात, खट्टामा निर्ममतापूर्वक प्रहार गरेका थिए । आक्रमणबाट चलाउनेको खुट्टा, ढाड, करङ र टाउकोमा गम्भीर चोट लागेको थियो । उपप्राध्यापक चलाउने करिब ६ महिनाको उपचारपछि मात्रै नियमित काममा फर्किन भएको हो । घटना लगत्तै उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा ज्यानसम्बन्धी मुद्दा दायर भएको थियो ।
अििहले कानुन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्ध मुद्दा फिर्ता लिने निर्णय गरेको हो । निर्णय जिल्ला सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालत काठमडौंमा पेश भएको छ ।
बुधबार पेश भएको निवेदन पेशीमा नचढेका कारण न्यायाधीशबाट सुनुवाइ गर्न अस्विकार गरी अर्को दिनको पेशी तोक्न आदेश भएको हो । = उपप्राध्यापक चलाउनेले मुद्दा फिर्ताको निर्णय तत्काल बदर नगरे अर्थहीन हुने भन्दै सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा पेश गरेको निवेदनको सुनुवाइ रोक्न अन्तरिम आदेश माग गर्नुभएको छ ।
विश्वविद्यालय हाताभित्र आफूमाथि मरणासन्न हुनेगरी आक्रमण भएको, त्यो आक्रमणमा संलग्नहरुमाथि मुद्दा चलेको अवस्थामा सरकारले राजनीतिक संरक्षणका आधारमा आरोपितहरुलाई जोगाउन नहुने रिट निवेदनमा उहाँको दाबी छ । चलाउनेले रिट निवेदनमा मुद्दा फिर्ता लिने सबै प्रक्रिया रोक्न माग गर्नुभएको छ ।