काठमाडाैं । बजेटबारे सांसदहरुले उठाएका प्रश्नको प्रतिनिधिसभा बैठकमा आज सम्बन्धित मन्त्रीहरुले जवाफ दिने भएका छन् ।
प्रनिनिधिसभा बैठक बिहान १० बजेदेखि शुरु हुँदैछ । बैठकमा बजेटप्रति सांसदहरुले उठाएका प्रश्न, टिप्पणी र जिज्ञासाको मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
संसद सचिवालयका अनुसार बैठकमा विनियोजन विधेयकअन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ । गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकूद, शहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्रीले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।
विनियोजन विधेयक २०८० अन्तर्गत शुक्रबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफल सकिएको छ ।
शुक्रबारको बैठकमा सांसदहरुले समयमा आयोजना सम्पन्न नहुँदा लागत खर्च बढेको, सांसद्ले सम्बन्धित मन्त्रीलाई टिपाएका योजना पनि समावेश नभएको, नेपाल प्रहरी र सशस्त्र प्रहरीको जवानको रासनमा पर्याप्त सुविधा नदिइएको, सदनमा प्रतिपक्षको आवाज सुनुवाइ ननभएको टिप्पणी गरेका थिए ।