काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता दुरुपयोग गर्नेलाई कडा कारबाही गर्ने बताउनुभएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठले आइतबार प्रतिनिधिसभामा संविधान अनुसार नागरिकताको हक प्राप्त नेपाली नागरिकहरूलाई यथाशीघ्र नागरिकताको प्रमाणपत्र दिने, नागरिकताको हक दिने र नागरिकताको दुरुपयोग र अवमूल्यनलाई कडाइपूर्वक नियन्त्रण गर्ने सरकारको नीति रहेको उहाँले संसदलाई जानकारी गराउनुभयो ।
श्रेष्ठ प्रकाशले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान खुला रहेको बताएका छन् । साथै तथ्य प्रमाणले भ्रष्टाचार र अनियमितता देखिए अरु प्रकरणलाई नछाड्ने उहाँले बताउनुभयो ।
मन्त्री श्रेष्ठले जबरजस्ती हुने धर्म परिवर्तनलाई निर्वाध रुपमा नछोडने बताउनुभयो । उनले शान्ति सुरक्षा, अपराध नियन्त्रण, संविधान प्रदत्त मौलिक हकहरूको निर्वाध प्रयोग सहित स्वतन्त्र नागरिक जिन्दगी पाउने स्थितिको प्रत्याभूति गर्ने, भष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासनको स्थापना गर्ने, विपद् जोखिमको न्यूनीकरण तथा व्यवस्थापन गर्ने सरकारले नीति लिएको बताउनुभयो ।
राष्ट्रिय परिचयपत्रको अभियानात्मक वितरण र त्यसबाट हुने अन्य क्षेत्रहरूको सेवालाई समेत सहज बनाउने, लागू औषध रोकथाम गर्ने, महिला हिंसा हुन नदिने र त्यसमा संलग्न पीडकहरूमाथि कडा भन्दा कडा कारबाही गर्ने, दलितमाथिको विभेदलाई कडाइका साथ नियन्त्रण गर्ने र विभेद गर्नेलाई कडाइका साथ कारबाही गर्ने उल्लेख गर्नुभयो । यसका लागि आन्तरिक सुशासनतर्फ पनि ध्यान दिने मन्त्री श्रेष्ठले बताउनुभयो ।