–डा. माधुरी सिंह
साथीले घरेलु हिंसाको कुरा उठाएको पनि आज ३० बर्ष भयो । सन् १९९५ ताका घरेलु हिंसामा काउन्सलिङ दिने संस्था भनेको नेपालमा ‘साथी’ मात्र एउटा थियो । दशै तिहारको बेलामा पनि हाम्रो संस्था र कार्यक्रम बन्द हुँदैनथ्यो । र, घरेलु हिंसा नै हाम्रो संस्थाको मुख्य एजेन्डा थियो ।
घरेलु हिंसाविरुद्ध महिलामा जागरण त थियो । तर घरभित्रै बस्नुपर्ने भएकाले उनीहरु बाहिर आउन डराउँथे । घरमा जतिसुकै अन्याय अत्याचार भए पनि विद्रोह गर्न नसक्ने भएकाले उनीहरु घरभित्रै खुम्चीन बाध्य थिए । बाहिर कसको सहारामा उनीहरु निस्कने ? भन्ने अवस्था थियो । ‘साथी’ले नै पहिलो आश्रय शिविर चलायो । आश्रय शिविरका बारेमा बुकलेट तयार गरियो । आश्रय शिविरमा अन्यायमा परेका महिला आएर बस्न थाले ।
हुन त हामीले सेल्टर खडा गर्दा पनि उपहास गर्नेहरुको समाजमा कमी थिएन । होच्याएर कुरा गर्थे । मैले एक पटक आश्रय शिविर खोल्दैछौं भनेर भन्दा एकजना डाक्टर साथीले भन्नुभएको थियो, ‘ए तिमीहरुले घरमा बसेका महिलालाई झगडा गरेर नबस, बाहिर आउ भनेर भडकाउन थाल्यौ हैन ।’
अठोट र दृढसंकल्प भएपछि कसैले रोक्न छेक्न सक्दो रहेनछ । पैसा भएर काम सुरु हुने नै हैन मन देखि मन लागेर मात्र नयाँ कर्म सुरु हुने हो ।
आश्रय शिविर खडा गर्दा सुरुमा हामीसँग पैसा पनि थिएन । तैपनि अठोट गरिसकेका थियौं । सुरुमा न्यायका लागि आएका पिडितहरुलाई घरबाटै भात पकाएर लगेर पनि खुवाईयो । उनीहरुलाई सुरक्षा पनि दियौं । सबै प्रकृया पुर्याउन हामीले सिक्दै पनि गयौं ।
राम र सीता १४ बर्ष बनवास जाँदाका धेरै कथा सुनेका छौं । तर साथीको साथ दिउँ भनेर खोलिएको संस्थाको कथा धेरैले सुनेका छैनन्। कथै कथाले भरिएको छ साथी झैँ लाग्दछ आजकल ।
पहिलो पटक हाम्रो आश्रय शिविरमा आएकी महिला धेरै बर्ष सम्म साथीमा जागीरमा हुनुहुन्थ्यो । उहाँलाई सबैले खास गरेर बच्चाहरुले मामु भन्दथे । उहाँले त्यही बसेर आफ्नो जिविका चलाउनुभयो । मुद्दा लडनुभयो । छोरीहरुलाई पनि पढाउनुभयो । यसरी आश्रय शिविरमा पिडितहरु आउन थाले । अस्पतालमा पनि हामीले खबर गरेका थियौ । हाम्रो सँस्था विस्तारै महिलाको असल र सहयोगी साथी बन्दै गयो ।
यस्ता घटनाहरु कत्ति हो कत्ति तैपनि केही प्रतिनिधि मुलक घटना यहाँ प्रस्तुत गरेको छु ।
घटना नम्बर एक :
एक पटकको कुरा हो । एउटा परिवारमा लोग्ने स्वास्नीवीच झगडा भएछ । राम्री श्रीमतीलाई नराम्रो बनाउन लोग्नेले श्रीमतीलाई मुखभरी एसीड फयाँकेछ ।
श्रीमतीलाई हानेको एसिड छोरीको शरीरको केहीँ भागमा परेछ ।
एक दिन वीर अस्पतालमा भर्ना हुँदा एक जना मान्छे अलिक अग्लो लाग्ने सारी लगाएर भेटन आएछन् । सारी लगाएको पनि मिलेको छैन । अग्लो पनि देखिन्छ के हो यो ? भनेर नर्सहरुलाई शंका लागेर समात्दा त लोग्ने मान्छे पो निस्कियो । प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि महिलालाई साथी मा पठाए ।
हामीले त्यो मुद्दा अदालतमा हालीदियौ । अदालत आउँदा महिलाका लोग्नेले एउटा कागज ल्याएर दिए । ‘अबदेखि म यस्तो गर्दिन, आइ लभ यू’ भनेर कागजमा लेखेका रहेछन् ।
‘आइ लभ यू’ त अंग्रेजीमै लेखिएको थियो । कम पढेकी उनी त्यो पढीसकेपछि धुरुधुरु रुँदै भनिन् ‘अब मलाई केही गर्दैन, म जान्छु।’
उनी गइन् । उनको तिघ्रा र स्तनमा पनि एसीडले घाउ पारेको थियो र उनी हिँडन नसक्ने भएकी थिइन् । हामी उनलाई बोकेरै तलमाथि गराउँथ्यौं । स्तन त पग्लीएर मुन्टा मात्र बाँकि थियो । सँगै बसेको केही समय पछि लोग्नेले उसलाई फकाएर भारत लगेछ । उसको रिस मरेको रहेनछ । भारतको होटलमा सुतीरहेको बेलामा फेरी उसले एसीड छयापेर बाहिरबाट चुकुल लगाएर भागेछ ।
घरेलु हिंसामा मान्छे भन्दा पनि घटना कसरी हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । घरेलु हिंसाको पनि चक्रहरु हुन्छ ।
तिनै महिला फेरी रुँदै कराउँदै मारयो मलाई भन्दै हामीकहाँ आइन् ।
एसिडले गर्दा यसपाली उनको हात पग्लिएर टाँसिएछ । हाम्रो एकजना भोलेन्टीयर थिइन्, सजनी अमात्य । हाल सजनी साथीको अध्यक्ष हुनुहुन्छ । उहाँ निकै सक्रिय र सहयोगी हुनुहुन्छ । सजनी मार्फत हामीले पाटन अस्पतालमा ति महिलाको उपचारलाई प्राथमिकताको सूचीमा राख्न सम्भव भयौं । त्यही समयमा अस्पतालमा अमेरिकाबाट छालाका सर्जनहरु आएका थिए । उनीहरुले नै ति महिलाको टाँस्सीएको हात छुटाइदिए । हामीले उनको स्याहार ग¥यौं । छोरीलाई एउटा केयर हाउसमा राखिदियौं । ति महिलाले भारतीय दुताबासमा काम गर्न थालिन् ।
ति महिलाले जिविका चलाउन थालीन् । उनी अहिले अर्कोँ विवाह गरेर भारतमै बस्छीन् । उनकी छोरीको पनि विवाह भइसकेको छ । छोरीले नर्सिङ पढेकी छन् । घरेलु हिंसाका कारण छोरीमा केही मानसीक असर परेको छ । उनी बेलाबेलामा डिप्रेशनको शिकार हुन्छीन् । घरेलु हिंसाले बच्चाको विकासमा असर पार्छ । त्यो उनको छोरीमा पनि देखिएको थियो ।
घटना नम्बर दुई :
यो घटनाको कथाले यो प्रश्न सोध्न मन लाग्दछ । के मान्छे यत्तिसम्म रिसाहा हुन्छ ? यहाँ यस्तै मान्छेको एक सत्य घटना लेखिरहेको छु । एक पुरुषलाई रक्सीको कुलतले यस्तो बनाएछ । रक्सी खाएपछि उनको काम भनेकै स्वास्नी नकुटी नछाड्ने । सुरुसुरुकै घटना भएकोले यो घटना सम्झदा अहिले पनि म तरंगित हुन्छु । त्योबेला महिला हिंसाको कुनै स्पष्ट परिभाषा आइसकेको थिएन । हामी पनि भर्खर ड्राफ्ट गर्ने अवस्थामा थियौं ।
काभ्रेकी ति महिलाले भनेपछि हामीले यो कुरा चाल पायौ ।
कतिसम्म रिसाहा भने स्वास्नी कुटन नपाएको बेला गाइबस्तुलाई कुटदा रहेछन् । त्यो एकप्रकारले अपराधिक मानसिकताले भरिएको व्यवहार थियो । अझै अचम्म उनले बाँधेको गोरुलाई पिटेरै मारेका रहेछन् । लोग्ने रक्सीले धुत भएर आउने भएकाले ति महिला साँझ परेपछि नन्दको घर या अन्त कतै लुक्ने ठाउँ खोज्दै हिँडनुपर्ने रहेछ ।
एकपटक त लोग्नेले कसैलाई पिट्न नपाएपछि आफ्नै तिघ्रामा बन्चरो हानेछन् । श्रीमतीले यो थाहा पाएर लोग्नेको औषधि उपचार गराइछन् । अब चाहिँ अतिभयो भन्दै उनको नन्द पर्नेले उनी संस्था गुहार्दै साथीमा साथ लिन आइन् । उनको दुःख सुनेपछि हामीले उनलाई आश्रय दियौ ।
उनको एउटा ९ र अर्को ७ वर्षको छोरा थिए । काभ्रेबाट काठमाडौँ आउँदा ठूलो खोला छ रे । उनीहरु अत्ति पिडित भएर होला उनका जेठा छोराले त्यो पुल तर्दा ‘आमा तिमी मलाई पछाडी बाँध , भाईलाई अगाडी बाँध हामी यो पुलबाट हाम फालेर मराँै’ भनेछन् रे । अहो, मरेपछि दुःखबाट मुक्ति पाइन्छ भनेर बच्चाको मन समेत त्यत्ति आत्तिएछ । दुबै बच्चा र उनी हाम्रो कार्यालयमा आईपुगिन ।
हाम्रो कार्यालय पाँच बजे बन्द हुन्थ्यो । उनीहरु दिउँसो सँधै हाम्रोमै आउँथे । साँझ परेपछि ती बच्चाहरु कुना कुना खोजेर बस्न जान्थे।
केटाकेटी दुई थरीका हुन्छ । एउटा दुःखबाट सप्रीन चाहने र अर्को चाहिँ जे देख्यो त्यही सिकेर जाने । घरेलु हिंसामा हुर्किएका बच्चाहरु प्राय कहिल्यै ‘नर्मल’ हुँदैनन् । कुनै बच्चाले अपराधिक कृयाकलापमा लागेको छ या कुनै बदमासी गरेको छ भने हामीले उसलाई सजाय दिएर या कुटेर मात्र समस्या समाधान हुँदैन । मैले अध्ययनका क्रममा बुझेको कुरा के हो भने त्यस्ता बच्चालाई प्रहरीकहाँ बुझाउनुपर्छ या दुइचार झापड हानेपछि ठिक हुन्छ भन्नु पनि समाधान हैन । खासमा उ कस्तो माहौलमा हु्र्कियो भन्ने कुराले महत्व राख्छ । जन्मदा नै कोहि पनि खराब हुदैन । बच्चा त्यस्तो हुनुमा केले अर्सर पा¥यो भन्ने हामीले हेर्नुपर्छ ।
कहिलेकहिँ सोच्दछु , ती पीडक पुरुष पनि के कारणले गर्दा त्यस्ता हिंस्रक भए होला भन्ने प्रश्न मेरो मनमा आउँछ ।
ति केटाहरु अहिले कहाँ छन्, मलाई खोज्ने रहर छ । उनीहरु कस्ता भए होलान् भनेर हेर्न मन छ । घरेलु हिंसाबाट हुर्केका ति कलिला मुना आज लाठे भए होलान ।
उनीहरु अहिले कुन अवस्थामा छन् भन्ने हेर्न मन छ ।
घटना नम्बर तीन :
अर्काे घटना पनि काभ्रेकै छ । यहाँ नारीले पुरुष प्रति गरेको घरेलु हिंसाको कथा छ । एक जना हुनेखाने परिवारकी केटीको प्रसँग हो यो । उ हुने खाने परिवारकी केटीको लोग्ने आर्थिक रुपमा कमजोर रहेछ । लोग्नले ज्यालादारी गरेर कमाउँदा रहेछन् । स्वास्नी चाहिँ अल्छी । एउटै कोठामा खाने र सुत्ने गर्थे । बुढाले कमाएर ल्याएको दिन मासु भात खाएर सबै सिध्याउँथे । नभएको दिन चाहिँ भोकै पनि बस्ने रहिछन् । पैसा नकमाएको दिन पतिलाई उनले हदैसम्मको टर्चर दिने रहिछन् ।
अभावका बेला सडकमा आफु पनी माग्ने र बच्चालाई पनी माग्न लगाउँने रहिछन् । माग्ने बनाएको कारणले बच्चाले पढन छाडे । बुढा पनि आजित भएर बुढी छाडिदिएर बाहिर हिड्यो ।
घरको परिवेशका कारण बच्चामा पनि त्यस्तै नराम्रो व्यवहार गर्ने स्वभाव देखापर्यो । ति बच्चा ठुलो भएपछि आईमाइ देख्न नहुने देख्यो कि पछाडीबाट छिल्लीन जाँदा रहेछन ।
घरेलु हिंसाले कसरी असर पारेको छ भन्ने कुरा बुझ्नुपर्छ । ‘साथी’मा यस्ता धेरै ‘केस’हरु आए । यस्ता केस त हजारभन्दा बढी हामीले नै हेर्र्यौ ।
घटना नम्बर चार :
राम्रो परिवार थियो । असल दम्पती थिए । कहाँबाट कताबाट लोग्नेमा रक्सी खाने लत लाग्यो । रक्सी खाएपछि मान्छेलाई अहंकार चढ्छ र रिस उठछ भन्छन । हाम्रोमा शरण लिन आएकी ति महिलाको लोग्ने पनि रक्सी खाएपछि राक्षस हुने ।
काम गरेर खाने दम्पती र चार वटा बच्चा भईसकेको बाबु दिउँसभर ठिक्क हुने । रात परेपछि रक्सी खाने र श्रीमती कुटने ।
खुवाई पियाई सुतेका बच्चा पनि बाबुले आमा कुटन थालेपछि बिउँझने । उनीहरुलाई बिस्तारै बाबु आमाको झगडाको असर पर्दै गयो । बाबुले आमा कुटेको देखेर बच्चाहरु ह्वाँह्वाँ रुन्थे रे । घरेलु हिंसाको माहौलमा हुर्केका बच्चामा त्यही अनुसारको असर गर्दोरहेछ । बच्चा रोएको सुनेपछि बाबुले आमालाई झन कुटथे रे । एकदमै मुख छाडेर स्वास्नीलाई पनी गाली गथ्र्यो रे ।
हर दिन त्यस्तै घटना घटदै गएपछि बच्चाहरुले बाबुले कुटेको देखेर बच्चाहरुले पनी त्यसलाई स्वाभाविक ठान्दै गए । उनीहरुलाई पनि एकप्रकारको खेलजस्तो लाग्दै गयो । एकदिन त बाबुसँगै बच्चाहरुले पनि पाइप ल्याएर आमालाई कुटेछन् । आमा मुर्छा परीछन् ।
आमा मुच्र्छा परेर लड्दा पनि पिटिरहेपछि छिमेकीले थाहा पाए । हो हल्ला भयो र बल्ल यो मुद्दा बाहिर आयो । आमाले बस्न नसक्ने भएर हामीकोमा आईन ।
घटना नम्बर पाँच :
कहिलेकहिँ सोच्छु , महिला कत्ति प्रताडित भएर बाँच्नु पर्ने । साथीमा यस्तै एक केस आयो नेपालगंजको । एक नव विवाहित जोडीको।
मागि विवाह थियो दुबैको ।
पुरुषलाई ‘नर्मल सेक्स’मा रुची नहुने रहेछ । उनले श्रीमतीलाई बाँधेर सेक्स गर्ने । सेक्स गर्दा गर्दै आफ्नो हात श्रीमतीको योनीमा हाल्ने र हात फुलाएर बाहिर ल्याउँने । त्यो उनलाई रमाईलो लाग्थ्यो रे । स्वास्नीलाई जे गरे पनी सहनुपर्ने नै भयो । भन्न जाउँ कहाँ जाउँ नजाउँ के गरौ । श्रीमती बढो अन्यमनस्क स्थितिमा परिन । उनी रात नै नपरोस् र श्रीमानसँग भेट नै नहोस् भन्नेमा पुगिन् ।
अचेल अहिले ‘म्यारीटल रेप’को कानून आएको छ । जर्बजस्ती श्रीमतीको इच्छाविपरीत गरिने यौन सम्पर्क पनि बलात्कार नै हो । त्यस्तो अत्याचार गर्नेलाई ‘म्यारीटल रेप’को मुद्दामा सजाय दिनुपर्छ भन्ने कुरा उठीरहेको छ ।
योनीमा हात छिराउने लोग्नेको घटिया हर्कत या एक प्रकारको बलात्कारकै कारण एकदिन योनीमा इन्फेक्सन भएछ । इन्फेक्सनका कारण योनी गन्हाउन थालेछ । दुर्गन्धका कारण उनी घरबाहिर निस्कन सकिनन् ।
यस्तो त के धनी, के गरीब सबैलाई हुने अत्याचार हो । कोहि बाहिर आउँछन् कोही आउँदैनन् ।
एक पटक त लोग्नेले इन्फेक्सन भएकै योनीमा हात छिराउँदा रगत बगेछ । ति महिला रगतको आहालमा बसेकी थिइन् रे । रगत शरीरबाट बगेकाले उनको अनुरहा सेतै र शरीर राताम्मे भएकै थिइन् रे ।
‘साथी’को कार्यालयका स्टाफहरुले कताकताबाट यो कुरा थाहा पाएर उनलाई अस्पताल लगेछन् । उपचारपछि योनीबाट रगत बग्न कम भयो ।
यो त सरासर महिला हिंसा हो भनेर हामीले चासो राख्न थाल्यौं । तर, उनको लोग्ने र घरका अन्य मानिसले ‘हाम्रो घरको मामिलामा तपाइहरु कुरा गर्न आउने को हो ?’ भनेर भन्न थाले । महिलालाई त्यहाँबाट निकाल्न निकै गाह्रो भएको थियो । हाम्रा साथीहरुलाई उनीहरुले पिटौंला झैं गरेका थिए ।
बल्ल तल्ल उनी साथीमा साथ पाएपछि नर्मल भएकी थिईन ।
० ० ०
घरेलु हिंसाको कुरा गर्दा हामीले नेपालमा विवाहको पक्षलाई हेरेका छैनौं । कानुनी दर्ता गर्दैमा विवाह हुँदैन । यहाँ त सिन्दुर लगाएर ल्याईदियो भने पनि विवाह भइहाल्यो । त्यस्तो विवाहलाई न घरपरीवारले मान्यता दिएको हुन्छ । न उनीहरुलाई घर परीवारको सहयोग हुन्छ । न त समाजले नै राम्रो मान्छ ।
यसै सम्बन्धमा एउटा केस हामीकहाँ आएको थियो । उनी प्रहरीकी श्रीमती थिइन् । लोग्ने कस्तो भने आफुले त मनलाग्दी गर्यो गर्यो, साथीभाइलाई पनि ल्याएर स्वास्नीसँग लगाइदिने ।
एकदिन यो केस पनि ‘साथी’को सेल्टरमा आयो । प्रहरीमा हाम्रा शुभचिन्तक भुवन चन्द भट्ट हुनुहुन्थ्यो, जो डिआइजी भएर रिटायर्ड हुनुभयो । भट्टजीले नै हामीलाई यस्ता मुद्दाहरु दर्ता गरेर ‘केस मेनेजमेन्ट’ गर्न सल्लाह दिनुभयो । अनि हामी अझ व्यवस्थित र प्रकृयागत ढँगले महिला हिंसाविरुद्ध अग्रसर भयौं ।
उनलाई न्याय दिलायौ ।
हामीले सन् १९९७ मा पहिलो पटक महिलाविरुद्ध हिंसाको सर्वेक्षण गर्यौं । १२ सय जनामा गरिएको सर्वेक्षणले हामीलाई अगाडी बढन मार्गदर्शन गर्यो । सबैलाई यो क्षेत्रमा लाग्न प्रोत्साहित पनि गर्यो । नेपालको निम्ति स्थलगत रुपमै गरिएको अध्ययन थियो ।
रिसर्चसँगै हामीले तालिम पनि दिन थाल्यौं । नेपालमा महिलाविरुद्ध कसरी हिंसा हुन्छ र कसरी त्यसविरुद्ध कानूनी, आर्थिक निकास खोज्ने भनेर तालिम दिने सम्भवतः हामी नै पहिलो हो । हामी विभिन्न कार्यपत्र लेख्थ्यौं र प्रस्तुत गथ्र्यौं । मन्त्रालयबाट पछिसम्म पनि महिला हिंसासम्बन्धी कार्यपत्रहरु मकहाँ आउँदा अचम्म लाग्थ्यो, सबै भाषा हाम्रै छ, मन्त्रालयबाट कसरी आयो ?
हामीले महिला हिंसालाई तिन भागमा बर्गीकरण गरेर हेर्न थाल्यौं, सामाजिक, मानसिक र शारिरीक ।
अहिले त कानुनमा पनि धेरै परिमार्जन आइसक्यो । हरेक पक्षमा कानूनको आवश्यकता पनि भयो । कानून नबनेसम्म महिला हिंसालाई अपराधको कोटीमा राख्न सकिदैनथ्यो । त्यो बेलासम्म पनि यसलाई अपराधको रुपमा लिईएको थिएन । हाम्रो जोड चाहिँ महिलामाथि हुने घरेलु हिंसा अपराध नै भएकाले कानूनले नै यसलाइ बर्जीत गर्नुपर्छ भनेर काम गर्दै गयौ ।
सुरुमा स्वर्गीय प्राध्यापक डाक्टर शान्ता थपलिया, प्रोफेसर गिता पाठक स्रंग्रौला, ‘साथी’बाट म, प्रमदा आदि अति क्रियाशील भएर लाग्यौं । घरेलु हिंसाका सम्पूर्ण पक्षको अध्ययन गरेर कस्तो कानून बनाउँदा उपयुक्त हुन्छ भन्नेबारे हामीले धेरै काम ग¥यौं । धेरै ड्राफ्टहरु बनाइयो ।
घरेलु हिंसाको कानुन आउन दशाैँ बर्ष लाग्यो । पहिला त हाम्रो अभियानलाई ‘घर भाड्ने र समाज बिथोल्ने’सम्म भनिएकाले कानूनमा राख्न पनि खासै वास्ता गरिएन । ‘साथी’ले कानून ड्राफ्ट गरेर समाज कल्याण परिषदमा प्रस्तुत गर्यौं र छलफल कार्यक्रम राख्न आग्रह गर्यौं ।
तात्कालीन एक सेक्सन अफिसरले हाम्रो फाइल एकातिर हुत्याउँदै ‘यस्तो प्रस्ताव पनि ल्याउने ?’ भन्दै हतोत्साहित पार्न खोज्नुभएको म सम्झन्छु । जे होस्, हामीले त्यो हदसम्मको अपमान सहेर पनि काम गरेको हो ।
अचम्मको कुरा, हाम्रो फाइल हुत्याउने तिनै कर्मचारीले एलएलएम गर्नुभएछ । एलएलएम गर्दा उहाँले ‘घरेलु हिंसा’ विषयमै थेसिस लेख्नुभएको रहेछ । उहाँ त सरकारी मान्छे, सायद कसैले थेसिस लेखिदिएको हुनसक्छ । तर, त्यो थेसिस लेखिदिनेले पनि महिला हिंसाबारे ठोस परिभाषा दिन सकेन । मलाई सरकारी अफिसर भएको मान्छे केही त गर्लान् भन्ने लागेर पास गरिदिएँ । तर त्याहाँ उपस्थित बिदेशी प्रोफेसर महिलाले त्यो थेसिसको निकै आलोचना पनि गरिन् । ‘तिमीहरुले केको आधारमा थेसिस् पास गराउँछाैँ ?’ यसबाट मैले पनि ठुलो सिकाई सिके ।
अन्ततः अनेक कोशीस गरेर हामीले कानून पनि ल्याएरै छाड्यौं । सन् २००८ मा मैले घरेलु हिंसा विषयमै पिएचडी गरें । सन् २००९ मा घरेलु हिंसासम्बन्धी कानुन आयो । यो सबै उपलब्धि हासिल हुनु र पिएचडी गर्नुअघि मैले ‘साथी’ संस्थामार्फत् देशव्यापी रुपमा तालिम संचालन गर्दाको बेग्लै अनुभव छ ।
(बरिष्ठ पत्रकार टंक पन्तद्वारा सम्पादित एवं लेखन कुञ्जद्वारा प्रकाशित सामाजिक न्याय पुस्तकबाट)