म्याग्दी । अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तरपालिका ‘मेयर कप’ बास्केटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीलाई सम्मान गरेको छ ।
काठमाडौँको कीर्तिपुर नगरपालिकाले आयोजना गरेको यु–१८ अन्तरपालिका मेयर कप पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागी भइ विजयी भएका खेलाडीलाई मङ्गलबार बेनीमा आयोजित कार्यक्रममा १ लाख पाँच हजारसहित सम्मान गरेको हो ।
सम्मानित हुने खेलाडीमा अर्जुन विक, रनिक गर्बुजा, नुकेश जुग्जाली, केमन सेञ्चुरी, राजेन्द्र गर्बुजा, मनिष तिलिजा पुन, निश्चल फगामी, हेमन परियार, सुजन परियार, राजु परियार, सुदिप बरुवाल, जोन तिलिजा र प्रशिक्षक सुमन तिलिजा पुन तथा व्यवस्थापक बिसन राना रहेका छन् ।
उहाह्रुलाई गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीलगायतले सम्मानपत्र, दोसल्लासहित सम्मान गर्नुभएको हो ।
यही असार ९ गते सम्पन्न फाइनल खेलमा आयोजक कीर्तिपुर नगरपालिकालाई पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले मेयर कप बास्केटबलको उपाधि जितेको थियो । विजेता खेलाडीले एक लाख पुरस्कारसहित ट्रफी प्राप्त गरेका थिए ।