काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्धको कारबाही नरोकिने बताउनु भएको छ ।
प्रधानमन्त्री दाहालले बु्धबार प्रतिनिधिसभामा भ्रष्टाचारहरुको कारबाहीमा सरकारले एकपछि अर्को सफलता प्राप्त गर्दै गएको धारणा व्यक्त गर्नुभयो । सरकारले नक्कली भूटानी शरणार्थी प्रकरणसँगै ललिता निवास काण्डमा पनि हात हालेको छ । त्यसपछि मिटरब्याजीसहित लगायतका सबै प्रकरणका खोल्ने प्रधानमन्त्री दाहालको भनाई छ ।
प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै नक्कली भूटानी शरणार्थी प्रकरणमा सफलता हातपारेसँगै उच्चपदस्थहरु र देशका एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको दावी समेत गर्नुभयो ।
‘मैले संसदमा संकल्प गरेको थिएँ–सुशासन सरकारको उच्च प्राथमिकता हुनेछ, मैले सरकारको यस बीचको सबभन्दा ठूलो उपलब्धि व्यवस्थाप्रति जनतामा जगाएको भरोसालाई मानेको छु’ उहाँले भन्नुभयो– मैले नेतृत्व लिँदै गर्दा जनतामा राज्यप्रति र सरकारप्रति जुन निराशा, असन्तोष र आवेग थियो । अहिले त्यसमा सुधार भएको छ । यसलाई मैले जनतामा राज्यप्रति र सरकारप्रति भरोसामा जो अभिवृद्धि भएको छ । यसबीचको सबैभन्दा ठूलो उपलब्धिको रुपमा मानेको छु ।’
प्रधानमन्त्रीले जनमानसमा हाई प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने धारणा रहेको उल्लेख गर्दै सरकारले त्यसलाई चिर्नुपर्ने बताउनुभयो । ‘त्यसले जनतामा ठूलो आक्रोश जन्माइरहेको छ, त्यो असन्तोषले लोकतन्त्रप्रति नै नकारात्मक धारणा बनिरहेको छ’ उहाँले भन्नुभयो – नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले गरेको इतिहासकै ठूलो अनुसन्धान र कारबाही पछि जनतामा विश्वास जाग्न शुरु भएको छ । नक्कली भूटानी शरणार्थी काण्डको सफल अनुसन्धानबाट सरकारले कानुनको सर्वाेच्चतामात्रै प्रमाणित गरेको छैन । लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको छ । लोकतन्त्रभित्र देखापर्ने समस्याको समाधान पनि लोकतन्त्रबाट नै प्राप्त हुन्छ भन्ने एउटा ऐतिहासिक मापदण्ड यो राम्रोसँग स्थापित भएको छ । उच्चपदस्थहरु र देशका एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको छ । यो काण्डको सफल अनुसन्धानसँगै अव लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरण पनि शुरु भएको छ ।’
प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गराएरै छाड्ने प्रतिवद्धता जनाउनुभएको छ । ‘संसद र आम जनसमुदायलाई म यही रोष्टमबाट विश्वास दिलाउन चाहन्छु–यो शुद्धिकरण यतिमा रोकिने छैन, यो निरन्तर अगाडि बढनेछ’ उहाँले भन्नुभयो – हिजोबाट प्रधानमन्त्री निवास निल्न खोज्ने ललिता निवास काण्डको अभियुक्तहरु पक्राउ पर्न थालेका छन । मिटरब्याजी र सहकारीका ठगहरुमाथि कारबाही शुरु भइसकेको छ । वर्षाैदेखि विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाईमा मलाई सदन र जनताको अझ धेरै समर्थनको आवश्यक्ता रहेको मैले महशुस गरेको छु । र, यो लडाईमा मलाई सदनको पनि र आम जनताको पनि अझ ठूलो हौसला र सहयोग प्राप्त हुने विश्वास पनि म व्यक्त गर्न चाहन्छु ।’