काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्धन एवम् संरक्षण गर्ने नीति लिएको जानकारी दिनुभएको छ ।
चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटन सत्रलाई बिहीवार सम्बोधन गर्दै लगानीको लागि आग्रह समेत गर्नुभएको छ ।
नेपालमा लगानीका अवसरबारे जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपालले कर स्ल्याबहरू सबभन्दा कम राखेको र व्यापारका लागि पनि उपयुक्त वातावरण सिर्जना गरेकोमा जोड दिनुभएको छ । श्रेष्ठले नेपालको जलविद्युत्, पर्यटन, कृषि, खनिज, खानी लगायतका क्षेत्रमा लगानीको अवसर रहेको बताउँदै नेपालको कानुनले लगानीबाट आर्जन गरेको आम्दानीलाई लगानीकर्ताको देशमा लैजानका लागि पूर्णरूपमा अनुमति दिएको प्रष्ट्याउनुभयो ।
वैदेशिक लगानीका सम्बन्धमा पछिल्लो समय नेपालले लिएको नीतिबारे जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा दर्ता भएका विदेशी कम्पनीले जग्गा खरिद, स्वामित्व लिन र बिक्री गर्न सक्नेछन्, स्वदेशी र विदेशी लगानीलाई कुनै भेदभाव नगरेको बारेमा समेत स्पष्ट पार्नुभयो । नेपाल–चीनबीचमा शताब्दीऔँदेखि उत्कृष्ट सम्बन्ध र मित्रता रहँदै आएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले दुई देश पहाड र नदीले जोडिएको भौगोलिक निकटता र सांस्कृतिक आत्मियताले गाँसिएको र असल मित्रता विश्वसनीय रहेको उल्लेख गर्नुभयो ।
नेपाल–चीन एकअर्काको सार्वभौमसत्ता, भौलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको पक्षमा अडिग रहँदै आएको उल्लेख गर्दै उहाँले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ, आफ्नो भूमि चीन र अन्य छिमेकीको हितविरुद्ध प्रयोग हुन नदिनेमा सधैँ प्रतिबद्ध रहेको बताउनुभयो ।