काठमाडौँ । आज असार १६ गते नेपालमा संसद् दिवस मनाइँदैछ। २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा हरेक वर्ष संसद दिवस मनाउने गरिन्छ।
नेपालमा आज विभिन्न कार्यक्रम गरेर संसद दिवस मनाइँदैछ। यस दिवसको अवसरमा पूर्वसांसद मञ्चले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम छ।
संसद दिवसकाे अवसरमा प्रतितिधिसभाका सभामुख देवराज घिमिरेले शुभकामना व्यक्त गर्दै संसद जनताप्रति जिम्मेबार र सभ्य हुनुपर्ने बताउनुभएकाे छ । सभामुख घिमिरेले संसदमा उपस्थित सबै राजनीतिक दल र सदस्यबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गरेका छन् । ‘संसद दिवस–२०८०’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै बहुदलीय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक
र संसदीय अभ्यासका असली सञ्चालक भएको हुनाले राजनीतिक दलहरुको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसद्को गतिशीलता र क्रियाशीलता निर्भर रहने उल्लेख गरेका छन्।
उनले संसद् दिवसले सङ्घीय संसद्का सदस्यहरु, संविधानसभा सदस्यहरु, पूर्वसांसद, संसद् सचिवालयलगायत राष्ट्रसेवक कर्मचारी वर्ग एवं आमनेपाली जनतामा संसदीय लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेका छन् ।
नेपालमा २०१६ असार १६ गते संसद्को पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरण गर्दै वर्षेनी संसद् दिवस बनाइँदै आएको छ। दिवसको दिनमा जनताप्रतिको उत्तरदायित्व र जवाफदेहितालाई सदैव आफ्नो पथ प्रदर्शकको रुपमा आत्मसात् गर्नु हामी सबैको प्राथमिक दायित्व हुनुपर्ने सभामुख घिमिरेको जोड रहेको छ ।