काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाको नियुक्ति विरुद्ध नेकपा एमाले सर्वोच्चमा शुक्रबार रिट दर्ता गरेको हो ।
कोशीका प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार सत्ता गठबन्धनको प्रस्तावमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । एमालेका हिक्मत कार्की नेतृत्वको प्रदेश सरकार ढलेपछि बहुमत पुर्याउन समस्या भएको कोशीमा सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमको समर्थनसहित थापालाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेको थियो । प्रदेश प्रमुखले सभामुखसहित मात्र बहुमत पुग्ने अवस्थामै थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सभामुख बाहेक सत्तारुढ गठबन्धनमा ४६ जना मात्रै सांसद छन् ।
संघीय तथा प्रदेशसभामा सभामुख बनेपछि दलको सदस्यता त्याग गरी तटस्थ भूमिका बस्नुपर्ने हुन्छ । संसदमा सरकार ढाल्ने खेल हुँदा सभामुख सांसद संख्याको गणितीय जोड घटाउनमा मुछिनु हुँदैन । तर कोशीका सभामुख गौतम भने सरकार बनाउने जोड घटाउमा संलग्न भएर विवादमा पर्नुभएको छ । एमालेले यस्तचै अवस्थामा मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेको हो ।
एमाले संसदीय दलका नेता कार्कीले सर्वोच्चमा रिट दर्ता गराउनुभएको कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभएको छ ।
संविधानको धारा १६८ को २ अनुसार दलको समर्थनमा मुख्यमन्त्री हुने प्रावधान छ । तर सत्ता गठबन्धनले सभामुखलाई पनि प्रयोग गरेर मुख्यमन्त्री नियुक्ति भएका कारण यो प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको प्रमुख सचेतक भण्डारी बताउनुभयो ।
‘सभामुखको समर्थनमा सरकार गठन हुँदैन, त्यसकारणले यो गलत छ’ उहाँले भन्नुभयो – ‘उत्प्रेषणको आदेशबाट बदरगरी पाऊँ भन्दै एमाले संसदीय दलका नेता कार्कीले सर्वोच्च रिट दायर गर्नु भएको हो।’