काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधपछि संसद बैठक स्थगित भएको छ ।
एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको केहीदिन अघिको अभिव्यक्तिलाई लिएर उहाँले पदबाट राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान लिएपछि राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक आइतबारसम्मकाे लागि स्थगित भएको हाे ।
राष्ट्रियसभा बैठक एमालेको अवरोधपछि आइतबारलाई सारिएको छ । राष्ट्रियसभा शुक्रबार पनि एमाले सांसदहरुले प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेपछि बैठक असार २४ गते बिहान ११ बजेर ३१ मिनेटमा बस्नेगरी स्थगित गरिएको हो ।
बैठकको शुरु हुने बित्तिकै एमालेकी सांसद विमला घिमिरेले आफ्नो पार्टीले कुनै आग्रह, पूर्वाग्रह र कुण्ठाले भन्दा पनि राष्ट्र र जनताको स्वाभिमान र संसदको गरिमाको रक्षा गर्नका लागि प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद चल्न नदिने अडान लिनु परेको बताउनुभयो ।
उहाँले प्रधानमन्त्रीले आफ्नो पदका लागि आत्मसमर्पण गरेकाले उहाँलाई नेपाली जनतालाई शासित गर्ने अधिकार नरहेकोे धारणा व्यक्त गर्नुभयो । देशकै सम्मानित पदमा पुगेका प्रधानमन्त्रीले भारतीय नागरिक प्रितम सिंहबारे दिएको नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रियता, स्वाधिनता र भौगोलिक अखण्डता र नेपाली जनताको स्वभिमानमाथि आँच आउने गरी दिएको यो अभिव्यक्तिले सारा स्वाभिमानी नेपालीहरुको शीर झुकेको सांसद घिमिरेको दावी छ ।
त्यसपछि एमाले सांसदहरु उठेर बैठक अवरोध गरे । एमाले सांसदहरु बैठक अवरुद्ध पारेपछि अध्यक्ष गणेश तिमिल्सिनाले सदन सुचारु गराउन पटकपटक आग्रह गर्नु भएको थियो । तर एमाले सांसदहरु
आफ्नो अडानबाट पछि नहटेको कारण अध्यक्ष तिमिल्सिनाले असार २४ गते आइतबारसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।
त्यस्तै दिउ्रँसो ३ बजेका लागि डाँकिएको प्रतिनिधिसभा बैठक पनि बस्दै नबसी स्थगित गरिएको छ । प्रतिनिधिसभाको बैठक पनि आइतबार दिउँसो १ बजेका लागि बोलाइ्रएको छ