काठमाडौं । चार दल सम्मेलित समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दैछ ।
अघिल्लो साता गठन भएको समाजवादी मोर्चामा सरकारको नेतृत्व गरिहेको नेकपा माओवादी केन्द्र, सत्ता गठबन्धन टिकाउन महत्वपूर्ण भूमिका खेल्दै आएको नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सम्मेलित छन् ।
स्रोतका अनुसार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राजीनामा मागेर संसद अवरोध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चा बैठक बोलाउन लगाउनु भएको हो । मोर्चा बैठक नेकपा एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा दिउँसो ४ बजेको लागि डाकिएको छ ।
प्रमुख प्रतिपक्ष एमालेले प्रधानमन्त्री दाहालको केही दिन अघिको अभिव्यक्तिलाई लिएर उहाँको राजीनामा माग्दै आएको छ । दाहालले केही दिन अघि पुस्तक लोकार्पणमा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रतिम सिंह विभिन्न पटक दिल्ली गएको भन्ने अभिव्क्ति दिएपछि एमालेले उहाँको राजीनामा मागेको हो । एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर ३ दिनदेखि राष्टिय र प्रतिनिधिसा बैठक अवरोध गर्दै आएको छ ।
प्रधानमन्त्रीको अभिव्क्तिप्रति सत्ता गठबन्धन ठूलो दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरुले पनि विरोध जनाएका छन् । एमाले, राप्रपाले राजीनामा मागेको र अभिव्क्तिको कांग्रेसका नेताहरुले समेत विरोध गरेपछि प्रधानमन्त्री दाहाल अप्ठयारोमा पर्नुभएको छ । प्रधानमन्त्री दाहालको आफूलाई अप्ठयारो पर्दा सबैलाई रोज्ने र सबैतिर धाउने तर समस्या समाधान गरेपनि भने अरुको गुन बिर्सने प्रवृति छ ।
प्रधानमन्त्री दाहालले आफूलाई निकै अप्ठयारो परेपछि मोर्चा बैठक डाक्न लगाउनुभएको हो । मोर्चामा सम्मेलित दलमा प्रतिनिधिसभा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० गरी ५४ सांसद छन् ।