काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि पुस्तक विमोचन कार्यक्रममा व्यक्त गर्नुभएको अभिव्यक्तिमा आफ्नो कमजोरी भएको स्वीकार गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधिसभामा अभिव्यक्तिको स्पष्टीकरण समेत दिनुभएको छ ।
प्रधानमन्त्रीले सरदार प्रितम सिंहसँग जेठी छोरी ज्ञानुको उपचारको क्रममा सम्बन्ध बनेको तर यसमा राजनीतिक कारण नरहेको उल्लेख गर्नुभएको छ । जेठी छोरी ज्ञानु क्यान्सरका कारण जीवनमरणको दोसाँधमा रहेका बेला छोरा प्रकाशले दिल्ली लगेको र त्यसक्रममा प्रितम सिंहको घरमा बसेर उपचार गराएको उहाँको भनाई छ। त्यसक्रममा सरदार सिंहले प्रधानमन्त्री तपाईं नै हुनुपर्छ भनेको भन्दै प्रधानमन्त्रीले भन्नुभयो – ‘उहाँले भनेर प्रधानमन्त्री हुनेवाला पनि थिएन, मैले प्रधानमन्त्री बनाइदिनुस् भन्ने कुरा पनि भएन ।’
प्रधानमन्त्रीले सिंहको विषयमा लेखिएको पुस्तक विमोचनका कार्यक्रममा बोल्ने क्रममा आफूले छोरी ज्ञानु बेडमा सुतिरहेको सम्झिएको समेत सुनाउनुभयो । ‘यहाँहरु सबैलाई थाहा छ, म सेन्टिमेन्टल छु । यति त प्रचण्ड भयो अब गर्नुहुन्छ के ? उहाँले भन्नुभयो ‘थोरै भावनामा आएँ । मैले त्यो नभनेको भए हुन्थ्यो, तर मनमा आयो, मैले भनें । तर म त्यो दिन प्रधानमन्त्री भएर बोलिनँ । म ज्ञानुको बुबा भएर बोल्न पुगें । त्यो सेन्टिमेन्ट सम्झिन पुगें । प्रितम सिंहको सदासयताको निम्ति धन्यवाद दिन पुगें ।’
प्रधानमन्त्रीको स्पष्टीकरण केही अंश
म अलिकति भावनात्मक छु नै । यही त प्रचण्ड भयो, अब गर्नुहुन्छ के ? थोरै भावनामा म आएँ । मैले त्यो कुरा नभने हुन्थ्यो । भन्नुपर्ने जरुरी थिएन । तर मैले भनें । मनमा आयो भनें । राष्ट्रप्रति नै घात गर्ने कुरा हो त यो ? यति सहज र स्वाभाविक कुरा प्रधानमन्त्रीको हैसियतले मैले त्यस्तो भाषा नबोल्नुपर्थ्यो । मैले प्रधानमन्त्री भएर होइन, ज्ञानुको बुवा भएर बोलें । त्यो सेन्टिमेन्ट सम्झिन पुगें । सदासयताका निम्ति धन्यवाद दिन पुगें । त्यति त हो कुरा ।
छोरीलाई क्यान्सर हुँदा सरदार प्रितम सिंहले आश्रय दिएकाले उहाँसँग भावनात्मक सम्बन्ध गाँसिएको थियो । उहाँले एक पटक मलाई प्रधानमन्त्री बनाउन दिल्ली र काठमाडौंमा समेत कुरा गरेको भन्नुभएको थियो । त्यही कुरा मैले बोलेको हुँ ।
प्रितम सिंह कुनै शक्तिकेन्द्र होइनन् । उनले भनेर म प्रधानमन्त्री भइहाल्ने पनि होइन । नेपालमा कसैलाई प्रधानमन्त्री बनाउने सामर्थ्य उनको छैन । त्यस्तो खालको व्यक्ति पनि होइनन् । हिजो अस्ति प्रितम आफैंले पनि भनेका छन् । उनीसँग मेरो नेता तथा प्रधानमन्त्रीको सम्बन्ध पनि छैन । बिरामी छोरीलाई सहयोग गरेको कृतज्ञ बाबुको सम्बन्धमात्रै हो ।
मेरो सवल पक्ष वा कमजोरी जे भने पनि सार्वजनिक र निजी कार्यक्रममा फरक रुपमा प्रस्तुत हुन धेरै गाह्रो पर्छ । सायद यो मेरो कमजोरी पनि हो र सायद सवल पक्ष पनि । यसभित्र अन्तरनिहित छ कि ? निजी जस्तै सार्वजनिक अभिव्यक्तिमा पनि म मनले बोल्छु । प्रधानमन्त्रीले बोल्नुपर्ने त दिमागले हो । यो कुराको सैद्धान्तिक ज्ञान मलाई नभएको होइन । तर, मान्छेको सत्व, जिन, उसको प्रवृत्ति, विशेषता जसले हामीलाई अलग अलग बनाएको छ, त्यही सत्वभित्र यो पर्छ । म दिमाग र मन दुवैले बोल्छु । कहिले मन अगाडि हुन्छ, कहिले दिमाग ।
मलाई धेरै साथीहरुले यस्तो स्वभाव परिवर्तन गर्न सुझाव दिने नगरेका पनि होइनन् । तर, ७० वर्षतिर अगाडि बढिरहेको समयमा यो बदल्ने कुरा फलामको च्यूरा हुँदो रहेछ । अब बदल्छु भन्यो बोल्न जाँदा आइहाल्छ । इमानदारीका साथ यो तथ्य राख्नुबाहेक मसित के विकल्प छ ? यही हो म, यही हो प्रचण्ड ।
तर, यो तहको भावुकता ठीक नभएको निष्कर्षमा म पुगेकै हो । स्वभाववश म अन्तरमनको आवाजतिर फर्किहाल्दो रहेछु । मनभित्र मैलो छैन । नियत सफा भए भित्र र बाहिरका अभिव्यक्ति समान हुँदा रहेछन् । म आत्मसमीक्षा गर्न चाहन्छु । भविष्यमा सतर्क हुन उत्प्रेरित गरेको ठानेको छु ।
तर, हिजो क्रान्तिकालमा स्वाधीनता र अखण्डताका लागि लडेको लडाइँ यत्तिले सिद्धियो त ? नाकाबन्दी हुँदा मैले लिएको अडान सबै प्रतिपक्षका नेता साथीहरुलाई राम्ररी थाहा छ । मेरो त्यही अभिव्यक्तिले सबै सकियो त ? ममाथि अदालतमा पनि मुद्दा छ । मैले षड्यन्त्र गरेर भनेको हो त ? तीन हजार, पाँच हजार, सत्र हजारका कुरा कुन प्रसंगमा के भन्यो हेक्का राख्नुपर्ने होइन ?
नैतिकताको कुरा गर्नुभयो माननीयज्यूले । विगतमा कसले कति गर्यो भनेर विगत हेर्नुभयो भने, राजेन्द्रजी भर्खरै दुई कार्यकाल भयो होला, पहिले पहिलेको यस्सो हेर्नुभयो भने, दुईपटक राजीनामा दिँदा कस्तो परिस्थितिमा दिएँ ? के आधारमा दिएँ ? गहिरोगरी छातीमा हात राखेर विचार गर्नुहोला, नैतिकता कसले देखायो भनेर विवेचना गर्नुहोला । तपाईंले भनेर त म राजीनामा गर्न सक्दिनँ । तर, अन्तरआत्माले भन्यो भने एक मिनेट पनि पदमा बस्दिनँ ।
दुवै पटक मैले उच्च नैतिकता देखाएँ । तर, प्रतिपक्षले माग्यो भन्दैमा भागिहाल्ने हो भने के गति हुन्छ देशको ? भोलि तपाईं प्रधानमन्त्री हुँदा पनि त्यस्तै होला । मतभेदका पनि मर्यादा हुन्छन् । आवेग र हतारमा त्यो भाषा र निष्कर्षमा नपुगौं । अलिकति समय लिएर पुगौं ।
अहिले परिस्थितिवश प्रधानमन्त्री बनेको हुँ । मलाई थाहा छ, म सधैंको लागि प्रधानमन्त्री भएको होइन, अहिले पनि मलाई लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन । तर, जति हुन्छु, यो पटक म जनताको पक्षमा काम गरेर देखाउँछु । त्यहीअनुसार काम गर्दैछु ।
म संसदमा केही प्रश्न पनि गर्छु । यो राख्दै जाँदा केही भावुकता आउने हो कि भन्ने डर पनि छ मलाई । यसबीचमा प्रश्न उठाइयो । मलाई प्रधानमन्त्री कसले बनायो ? नेपालमा प्रधानमन्त्री कसले बनाउँछ भन्ने किसिमले प्रश्न उठ्यो । यो प्रश्न उठ्दैगर्दा मभित्र धेरै कुरा खेले ।
मलाई प्रधानमन्त्री बनाउन लिखित रुपमा हस्ताक्षर गर्नेहरु प्रतिपक्षी दलका साथीहरुबाटै यो प्रश्न आएको देख्दा म गम्भीर भएको छु । किनकि मलाई प्रधानमन्त्री प्रितम सिंहले दिल्ली गएर बनाएर ल्याएको त होइन । मेरो भित्रको कुरा भन्दैछु । प्रितम सिंहले बनाएको त होइन । योभन्दा धेरै नबोलौं । त्यो बेलामा के स्थिति थियो, उहाँहरुलाई राम्रो थाहा छ ।
म प्रधानमन्त्री कुन परिवेशमा भएँ भन्ने कुरा सबैभन्दा बढी हेक्का प्रमुख प्रतिपक्षी दलका प्रमुख नेतालाई छ । क(कसले रोक्न खोजेका थिए भन्ने थाहा हुँदाहुँदै अहिले राष्ट्रपतिलाई आफैंले लेखेको पत्रको यति ठूलो अवहेलना हुने गरी प्रश्न कसरी उठाइयो रु मभित्र प्रश्न उठेको छ ।
मेरो भाषाबाट पर्न गएको असहजताप्रति दुःख व्यक्त गर्न चाहन्छु । मेरो मनसाय कसैको अनादर वा आरोपप्रत्यारोप गर्ने नहुँदानहुँदै पनि यसअघिका कतिपय टिप्पणी र वक्तव्यमा देखिएका भावहरुका निम्ति पनि दुःख व्यक्त गर्न चाहन्छु । विगतका सबै टिप्पणीहरु, तिनमा प्रयोग भएको भाव र भाषाभन्दा यो नै आधिकारिक हो र यसलाई नै स्थापित गरेर लैजाने विश्वास व्यक्त गर्न चाहन्छु । मेरो भाषा प्रधानमन्त्रीका रुपमा जसरी बोल्नुपर्थ्यो त्यस्तो नभएको रियलाइज गर्दै यसप्रति ध्यानाकर्षण गराउने प्रतिपक्ष दलहरुलाई धन्यवाद दिन्छु ।