काठमाडौं । श्रावण महिनाको कृष्ण पक्षमा पर्ने एकादशी तिथिलाई कामिका एकादशी भनिन्छ । यस दिनमा नेपाल तथा भारत लगायत विभिन्न मुलुकमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राख्नुको साथै यसलाई एक पर्वको रुपमा मनाउने गर्दछन् ।
हरेक एकादशीका आआफ्नै महत्व भएपनि शिवको महिना अनि कृषीकार्यको उत्सर्गमा हुने यस श्रावण कृष्ण पक्षको एकादशी कामिकाको महत्व अलिक पृथक पनि छ ।
यस एकादशीमा व्रत लिनाको फल भने अश्वदान गरेझैं हुनेगर्दछ, अश्व अर्थात घोडा जसको दान गरिने यज्ञ अश्वमेघ यज्ञ सबैभन्दा महान यज्ञका रुपमा मानिएको पाइन्छ । काशीको गंगामा प्रातकालिन डुबुल्की मारे भन्दा धेरै, नैमिश्रयण या पुस्करको जगंलमा तपस्या गरेभन्दा धेरै यस एकादशीको व्रतको फल रहने गर्दछ । मानव हित अनि मोक्षका लागि यस एकादशीको महत्व वास्तवमै धेरै ठाँउमा वर्णन गरिएको पाइन्छ ।
सौर्य ग्रहणका दिन कुरुक्षेत्रमा स्नान गरेभन्दा धेरै, शालिग्रामको निवास रहेको गण्डकी नदिमा स्नान गरेभन्दा धेरै, गोदावरी स्नान भन्दा धेरै, दुहुनो गाई र बाच्छी दान गरेभन्दा धेरै फल आजको एकादशीको व्रत लिँदा हुने बताइएको छ।
आजको एकादशीको साँझमा शुद्य घ्यूको दियो तुलसाको मोठमा बाल्ने चलन पनि छ । अनि भगवानलाई पञ्चामृत भोग लगाउने चलन पनि रहेको पाइन्छ । तुलसीको पात या मठ नभएमा मन्जरी या तुलसीको डाँठ या केही नभएमा जुनसुकै बस्तुलाई विष्णुको प्रतिमा मानेर स्थापना गरि अर्चना गर्न सकिन्छ । अन्न र नुनको प्रयोग यस एकादशीमा वर्जित छ ।
वैदिक सनातन धर्मावलम्बीले अष्टमी, पूर्णिमा र औँसीजस्ता तिथिलाई बढी महत्त्व दिने गरेको पाइन्छ। एकादशीका दिन अन्न नखाने, बेलुकी एक छाक रोटी खाने, दुई दल भएका वस्तु (केराउ, चना, सिमी आदि) तरकारी नखाने परम्परा छ। वैष्णव धर्म नलिएकाले पनि एकादशीका दिन मांसाहार नगर्नेजस्ता नियम अँगालेको पाइन्छ। एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने, माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ।
एकादशी महिनामा दुई पटक पर्छ, शुक्ल पक्षमा एउटा र कृष्ण पक्षमा अर्को। यो हिसाबले वर्षमा २४ वटा एकादशी हुन्छन्। तर अधिकमास परेको वर्ष दुईवटा थपिन्छन्। सामान्यतया मार्गशीर्ष (मंसिर)कृष्ण पक्षको एकादशीलाई पहिलो र कार्तिक शुक्ल एकादशीलाई अन्तिम एकादशी मानिन्छ।
विभिन्न पुराणमा एकादशीको उत्पत्ति, माहत्म्य र फलबारे बताइएको छ। एकादशी माहत्म्यमा पनि प्रत्येक यो दिन गर्ने र नगर्ने कामका विषयमा उल्लेख पाइन्छ।