काठमाडाैं । राष्ट्रियसभा सदस्य अनिता देवकोटाले दाङ जिल्लालाई डेंगू प्रभावित जिल्लाको रुपमा सुचिकृत गरी नियन्त्रणका लागि पहल गर्न माग गर्नुभएको छ । बिहीवार राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य देवकोटाले दाङ जिल्लालाई डेंगू प्रभावित जिल्लाको रुपमा सूचिकृत गर्न माग गर्नुभएको हो।
उहाँले सूचिकृत गरी डेंगुको नियन्त्रण र रोकथामका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
त्यस्तै, राष्ट्रियसभा सदस्य इन्दु कडरियाले नेपालका नर्सिङ कलेजहरु बन्द गरी बिद्यार्थीहरु बाहिर पढ्न जानुपर्ने अवस्था रहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।
सदस्य कुमार दसौदीले पेट्रोलियम पद्धार्थको मूल्य समायोजन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भएपनि सरकारले मूल्य नघटाएको बताउनुभयो।
सदस्य खिमलाल देवकोटाले अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)ले स्थानीय तहका विकास निर्माण लगायतका काममा व्यवधान सिर्जना गरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले समस्या समाधान गर्न सरकारलाई अनुरोध गर्नुभयो।
सदस्य दीपा गुरुङले वर्षाका कारण देशको थुप्रै ठाउँमा बाढी, पहिरो गएको र जनधनको क्षति भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले प्रभावितहरुलाई व्यवस्थित ढंगले राहत, सहुलियतका साथै स्थानान्तरण गरी बसोवासको उचित व्यवस्था मिलाउन माग गर्नुभयो।
सदस्य दिलकुमारी रावल थापा पार्वतीले आगामी आर्थिक वर्ष २०८०/८१ मा हुम्ला सदरमुकाममा राष्ट्रिय सडक सञ्जालमा जोड्नेगरी बजेटको सुनिश्चितता मिलाउन माग गर्नुभयो । त्यस्तै सडक निर्माणमा खटिएका नेपाली सेनाको जोखिम भत्ता नकटाउन समेत उहाँले माग गर्नुभयो।
सदस्य महेशकुमार महराले डडेलधुरामा अविरल वर्षाका कारण केही गाउँ भासिएर ४५ घरहरु बिस्थापित भएको भन्दै उनीहरुको उचित व्यवस्थाप गर्न सरकारसँग माग गर्नुभयो।