काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित भइरहेको बताउनुभएको छ ।
एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टी मुख्यालय च्यासलमा आयोजित भानु जयन्तीे कार्यक्रममा नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुन गएको बताउनु भएको हो ।
अध्यक्ष ओलीले समाज सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै शतर्क हुनुपर्ने अवस्था आएको धारणा व्यक्त गर्नुभएको छ । समाज भगवानसँग पनि डराउन छोडेको र अराजकता, जथाभावी बोल्नेहरुसँग रमाउन थालेको उहाँको भनाई छ। ‘भगवानसँग पनि डराउन छोड्यो मान्छे। नैतिकता पनि गुमायो’ उहाँले भन्नुभयो– त्यसले अलि भद्रगोल, अराजकता, जथाभावी बोल्के कुरा, सत्य नचाहिने, असत्य बोल्दा आनन्द मान्ने, असत्यको बाटो अवलम्वन गर्दा गौरव गर्ने, झुट बोल्न पाउँदा, अर्कालाई पीडा दिन पाउँदा, आनन्द मान्ने परपीडक प्रवृत्ति बढेको छ।’
अध्यक्ष ओलीले आदिकवि भानुभक्त आचार्यको योगदान कुनैपनि कुराले कमजोर हुन नसक्ने उल्लेख गर्नुभयो । ‘एउटा रामायण मात्रैको अनुवादले पनि भानुभक्तले नेपाली समाजमा लगाएका गुन धेरै छन्, एउटा समाजलाई स्थितिमा मूल्य, नैतिकतामा बाँध्नका लागि प्रयास गरेको देखिन्छ’ उहाँले भन्नुभयो – त्यसमा भक्तिरसतर्फ समाजलाई डोर्याउने कुराले राज्य कमजोर भएका बेला, अहिले राज्य त्यसबेलाको भन्दा मजबुद्ध छ तर पनि भक्ति रस पनि भंग भयो, नैतिक रस पनि छैन। भक्ति पनि समाप्त भयो।’
अध्यक्ष ओलीले नेपाली समाजको सांस्कृतिक अधोपतन हुन नदिन सबै एक भएर लाग्नुपर्ने बताउनु भयो । ‘अहिले नेपाली समाजको एउटा पक्ष परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण तरिकाले अवलम्वन गर्ने, अलिक सामाजिक मूल्यबाट विचलित भएको छ। त्यो चिन्ताको विषय हो’ उहाँले भन्नुभयो ।