काठमाडौं । कमयुनिष्ट विचारधाराका चार पार्टीहरुले गठन गरेको समाजवादी मोर्चाको बैठकले विभिन्न तीन निर्णय गरेको छ । पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको चार पार्टीले बनाएको मोर्चाको बैठक बसी विभिन्न निर्णय गरेको हो।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रत्येक चार–चार महिनामा नेतृत्व परिवर्तन गर्ने पहिलो निर्णय गरेको छ भने जिल्ला तहसम्म संरचना बनाउने दोश्रो निर्णय गरेको छ ।
बैठकले साउनको १२ गतेपछि सातै प्रदेशमा मोर्चाको आवश्यकता र औचित्य बुझाउने गरी भेला गर्ने तेश्रो निर्णय गरेको छ । कम्युनिष्ट विचारलाई मजबुत बनाउन भन्दै चार दलले असार ४ गते मोर्चाको घोषणा गरेका थिए । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि मोर्चामा सामेल हुने भनिए पनि अन्तिम समयमा सो पार्टी सामेल भएन ।
नेपाली मौलिकतासहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यसहित मोर्चा गठन गरिएको नेताहरुको भनाइ रहेको छ ।
त्यसैगरी, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको बाटो तय गर्ने, वर्गीय तथा क्षेत्रीय विभेदको अन्त्य गर्ने, मानव विकास सूचकाङ्कमा पछाडि परेका मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई प्रमुख प्राथमिकता राख्ने, जनताको नागरिक तथा आर्थिक अधिकारको संरक्षण, वित्तीय एकाधिकार तथा दलाल पूँजीवादी अर्थव्यवस्थाको विकल्पमा समाजवादी अर्थतन्त्रको आधार तयार पार्ने मोर्चाको उद्देश्य रहेको उनीहरुको भनाइ छ ।