काठमाडौं । संसदीय समितिमा सभापति चयन हुन नसक्दा समितिको कार्य प्रभावित भइरहेको छ ।
संसदीय समिति गठन भएको लामो समय बितिसक्दा पनि समिति सभापति चयन हुन नसक्दा समितिले गर्ने काम, कारबाहीहरु प्रभावित बनेका हुन् । हाल समितिको बैठक समितिका ज्येष्ठ सदस्यको सभापतित्वमा बस्दै आएको छ । निर्वाचित समिति सभापति नहुँदा समितिको काम कारबाही प्रभावकारी हुन नसकेको बताइएको छ ।
राजनीतिक दलहरुले आपसी समझदारीमा समिति सभापतिको भागबन्डा गरेको कुरा नेताहरुले बताउँदै आएपनि हालसम्म समितिले सभापति भने पाउन सकेको छैन । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले विभिन्न समितिमा गरी १० विधेयक विचाराधिन अवस्थामा रहेको बताउनु भयो ।
उहाँले राज्य व्यवस्था तथा सुशासन समितिमा ४ , अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा १, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा १ कानुन, न्याय तथा मानव अधिकार समितिमा २, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा २ विधेयक दफावार छलफलका लागि पठाइएको जानकारी दिनुभयो । त्यसबाहेक प्रतिनिधि सभामा ६ विधेयक प्रक्रियामा रहेका बताउनु भयो ।
उहाँले समिति बैठक हालसम्म गम्भिर प्रकृतिका विषयवस्तुमा प्रवेश नगरेको बताउनु भयो । समिति सभापतिको नेतृत्वमा समिति चलाउँदा नै समितिको सक्रियता र क्रियाशीलता बढ्ने उहाँको भनाई छ । उहाँले समिति निर्वाचनपछि समितिले थप गति लिने विश्वास व्यक्त गर्नुभयो ।
प्रवक्ता गिरीले विभिन्न समितिमा सार्वजनिक हित र सरोकारका बिषयमा उजुरी परिराखेका समेत बताउनु भयो । उहाँले समितिले उजुरी उपर सम्बन्धित निकायलाई बोलाएर छलफल गर्ने बताउनु भयो । यस अघिकै कतिपय उजुरी यथावत रहेका र नयाँ परिरहेको उहाँले जानकारी गराउनुभएको छ ।