काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसलाई पार्टी रूपान्तरण प्रतिवेदन बुझाइएको छ । कांग्रेसको केन्द्रीय समिति बैठकअघि मंगलबार रूपान्तरण अभियानले प्रतिवेदन बुझाएको हो ।
कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरे लगायत केही युवा नेताले देशव्यापी कांग्रेस रूपान्तरण अभियान चलाउँदै आउनुभएको छ। युवा नेताहरुले अभियान प्राप्त सुझावको आधारमा तयार प्रतिवेदन कांग्रेस नेतृत्वलाई बुझाउनु भएको हो ।
युवा नेताहरुले प्रतिवेदन केन्द्रीय समिति बैठकअघि पार्टी सभापतिलाई शेरबहादुर देउवा बुझाउन खोज्नु भएको थियो । तर देउवाले बुझ्न मान्नु भएन । सभापति देउवाले प्रतिवेदन बुझ्न नमानेपछि युवा नेताहरुले त्यसलाई पार्टी मुख्यालय सानेपामा दर्ता गराउनुभएको छ ।
देउवालाई प्रतिवेदन बुझाउन समय माग्दा नदिएपछि पार्टी कार्यालयमा मुख्यसचिव मार्फत बुझाएको युवा नेता घिमिरेले बताउनुभयो ।
प्रतिवेदनमा पछिल्लो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भएको अस्वाभाविक गठबन्धन र सरकार निर्माणको क्रममा भएको राजनीतिक दुर्घटना, उपनिर्वाचनको अनपेक्षित परिणाम, भ्रष्टाचार प्रकरणहरूमा पार्टीका नेताहरूको संलग्नता, विभिन्न जिल्लाका नेता तथा कार्यकर्ता व्यक्तिगत तथा सामूहिक रूपमा व्यक्त असन्तुष्टि लगायतका विषय समेटिएको छ ।
प्रतिवेदनमा मुलुकको ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गरेको नेपाली कांग्रेस पार्टीभित्र देशभरिका इमान्दार, निष्ठावान् नेता एवं सदस्यहरूलाई पछिल्ला राजनीतिक घटनाक्रम र अवस्थाले चिन्तित र गम्भीर बनाएको उल्लेख गरिएको छ ।
पार्टीका भ्रातृ शुभेच्छुक संस्थाहरूमा देखिएको आन्तरिक अव्यवस्था, नीति विहीनता र विधि विहीनतामा पार्टी सञ्चालन, नेपाली कांग्रेसलाई समयसापेक्ष सुधार नगरी रूपान्तरणका आकांक्षा र आवश्यकतालाई समयमै सम्बोधन गरेर अघि नबढ्ने हो भने पार्टी सदस्यहरूमा झनझन निराशा बढ्दै जाने र पार्टीको लोकप्रिय जनधार खस्किँदै गएको समेत प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनको पूर्णपाठ