काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भाेलि (आइतबार) बस्ने भएकाे छ। साउन २ गतेदेखि जारी बैठक आज स्थगित भएकाे हाे ।
आज संस्थापक नेता बीपी काेइरालाकाे स्मृति दिवस र शनिबार परेकाले बैठक स्थगित गरिएकाे हाे । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १ वर्षपछि मंगलबारदेखि शुरु भएकाे हाे। बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० वटा एजेन्डा प्रस्तुत गरेका थिए । यस्तै, अर्का महामन्त्री गगन थापाले वार्षिक कार्यतालिकासहित प्रतिवेदन पेस गरेका थिए।
मंगलबार प्रस्तुत भएका एजेन्डा र प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले बुधबारदेखि धारणा राख्न सुरु गरेका थिए । अहिलेसम्म बुधबारको बैठकमा ४६ जना, बिहीबारको बैठकमा ३५ जना र शुक्रबार ३४ जना केन्द्रीय सदस्यले धारणा राखेका छन्। केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी छ।
सदस्यहरुले विशेषगरी विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचिमाथि धारणा व्यक्त गरेका थिए ।
अर्काे बैठक साउन ७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।