काठमाडौं । साहित्यिक पत्रकार सङ्घले शनिबार आयोजना गरेको एक विशेष समारोहमा नेपाली संस्कृतिका विशिष्ट संस्कृतिविद् डा. जगमान गुरुङ, वरिष्ठ आख्यानकार गीताकेशरी र वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई अभिनन्दन गरेकाे छ।
साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको सन्दर्भ पारेर उनीहरूलाई अभिनन्दन गरिएको हो । प्रमुख अतिथि संविधानसभाका अध्यक्ष एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ, विशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रतिनिधिसभा सदस्य एवम् नेपाली काङ्ग्रेसका नेता शंकर भण्डारी, सङ्घका अध्यक्ष राधेश्याम लेकाली लगायतले उनीहरूलाई अभिनन्दन गरेका थिए। अभिनन्दन कार्यक्रममा इतिहासविद् प्रा.डा. सुरेन्द्र केसी, साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, गुन्जनका पूर्व अध्यक्ष हिरण्यकुमारी पाठक, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ र साहित्यकार उन्नति बोहरा शीलासमेतको सहभागिता थियो ।
कार्यक्रममा प्रमुख अतिथि सुवासचन्द्र नेम्बाङले लेखक साहित्यकारहरूले देशमा सधैं गाईजात्रा भइरहेको छ भनेर गुनासो गर्नुभन्दा त्यस्ता गाईजात्रा गर्नेहरूसम्म आफ्ना विचार पुर्याउने र उनीहरूलाई ठीक बाटोमा ल्याउनेतर्फ लाग्नुपर्ने बताए। उनले साहित्यिक पत्रकार सङ्घका गतिविधिसँग आफू लामो समयदेखि जोडिएको बताउँदै यस्ता कार्यक्रमबाट समाजलाई अघि बढाउने काममा योगदान पुग्ने धारणा राखे ।
विशिष्ट अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशमा बढ्दो विकृति र विसङ्गतिविरुद्ध स्रष्टाहरू फेरि जागरुक हुनुपर्ने आवश्यकता औंल्याए । सक्रिय राजनीतिमा लागेपछि आफूले सिर्जनात्मक कार्यमा समय दिन नसके पनि साहित्य आफ्नो रूचिको विषय भएको बताए।
पूर्वमन्त्री नेपाली काङ्ग्रेसका नेता शंकर भण्डारीले यो देशको निर्माणमा पृथ्वीनारायण शाहको योगदानलाई कसैले पनि नकार्न नसक्ने बताउँदै नयाँ निर्माण हुन लागेको संसद भवनको प्राङ्गणमा उनको प्रतिमा राख्नुपर्ने धारणा राखे ।
सम्मानित व्यक्तित्वद्वय डा. जगमान गुरुङ र मदनदास श्रेष्ठले समेत बोलेको उक्त कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले सम्मानित व्यक्तित्वहरूको योगदानमाथि प्रकाश पारेका थिए।
अध्यक्षको आसनबाट सङ्घका अध्यक्ष राधेश्याम लेकालीले साहित्यिक पत्रकार सङ्घले ५० वर्षदेखि साहित्यिक पत्रकारिता, साहित्य, कला, संस्कृति आदिका क्षेत्रमा गर्दै आएको योगदानको स्मरण गरे। उनले साहित्यिक पत्रकारहरूको हकहितको सुरक्षा र सहयोगका लागि छुट्टै निकायको आवश्यकतामा जोड दिए। साथै उनले समाजसेवी शोभित उप्रेतीसितको सहकार्यमा शैलुङमा "स्रष्टा गृह"को संचालन गरिने पनि बताए।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, समालोचक प्रमोद प्रधानलाई मायाको चिनोसहित सम्मान गरिएको थियो । होटल तपसमा आयोजना गरिएको कार्यक्रमको सञ्चालन साहित्यकार श्रीबाबु कार्कीले गरेका थिए।