काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको बुधवार शुरु भएको केन्द्रीय समिति बैठकमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको दस्तावेज वितरण भएको छ ।
प्रज्ञा भवन कमलादीमा भइरहेको बैठकमा सहभागी केन्द्रीय सदस्यहरूलाई पूर्वप्रधानमन्त्ती भट्टराईको दस्तावेज छलफलका लागि भनेर बितरण गरिएको हो ।
माओवादी छोडेर पछिल्लो समय नेपाल समाजवादी पार्टी खोल्नुभएका भट्टराईकोे दस्तावेज उहाँको सचिवालयले इमेलमार्फत पठाइएको हो । पूर्वप्रधानमन्त्री भट्टराईकोे दस्तावेज प्राप्त भएको बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले बताएका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले दस्तावेजमा माओवादी आन्दोलन कहाँ चुक्यो ? अबको वैकल्पिक राजनीति कस्तो हुने ? अबको समाजवादको मोडेल कस्तो हुने ? यस विषयमा खुलेर छलफल गर्न माओवादी नेताहरूलाई आग्रह गर्नुभएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै हुनुहुन्छ ।
खाँचो अग्रगामी वैकल्पिक शक्तिको
– बाबुराम भट्टराई
हामी कहाँ चुक्यौँ ?
हालैको घटना हो । पश्चिम तराईमा राति दश वजेतिर एकजना साथीको घरमा खाना खाएर सुत्ने तरखरमा थिएँ । पल्लो घरका एकजना युवा आएर फोटो खिच्ने इच्छा गरे । मैले भने– ‘भोलि विहान उज्यालोमा खिच्दा हुन्न?’ । उनले भने–‘म अहिल्यै विदेशतिर हिड्न लागेको ।’ फोटो खिचिसकेपछि मैले पुनः सोधे– ‘वाबु फर्किएर त आउनु होला नि !’ उनले विना हिच्किचाहट भने– ‘म अव कहिल्यै यो देश फर्किन्न !’ म स्तब्ध भएँ ।
पछि वुझेँ– ती २२ वर्षीय शिक्षित युवा क्रोएशिया हुँदै यूरोप जान लागेका रहेछन् । राति अवेरसम्म निद्रा लागेन । मनमा कुरा खेलिरहे – हामी ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ भन्छौं । तर त्यो युवालाई आफ्नै मातृभूमिप्रति त्यति धेरै वितृष्णा किन भयो ? मसँग उनले किन फोटो खिचे ? शायद ‘पूर्व प्रधानमन्त्री’ भनेर होला ! तर भोलि सीमा कटेपछि उनले डिलिट गर्लान् कि राख्लान् ? आफ्ना देशका नागरिकलाई देशभित्रै रोजगारी दिन नसक्ने कस्तो नालायक प्रधानमन्त्री भनेर डिलिट पो गर्लान् कि ? इत्यादि इत्यादि ।
यो त एउटा प्रतिनिधि घटना मात्रै हो । मानिसहरु राम्रो अवसरको खोजीमा एउटा ठाउँबाट अर्को ठाउँमा वा एउटा देशबाट अर्को देशमा जानु सामाजिक–आर्थिक उद्विकासको स्वभाविक प्रक्रिया हो । अहिले विश्वभर २८ करोड (३.६ प्रतिशत) आप्रवासी जनसंख्या छ । नेपालबाट पनि पचासौँ लाख मानिस विदेश जाने आउने गर्छन् । त्यसले देशको विकासमा नोक्सान मात्र हैन, कतिपय लाभ पनि पु¥याएको छ र यो प्रक्रिया लामो समयसम्म चलिरहने छ ।
तर यहाँ गम्भीर र वढी चिन्ताजनक कुरा अर्कै छ । ती युवाले किन ‘यो देश फर्किन्न’ भने ? ती युवा मात्र हैन किन हाम्रा घरघरबाट हाम्रै छोराछोरी र नातिनातिनीहरु रोजगारी निम्ति मात्र हैन प्लस टू पछि उच्च शिक्षानिम्ति समेत हूलकाहूल देश छोडेर वाहिर जाँदैछन् ? किन युवाहरुले हामी देशमा युगान्तकारी राजनीतिक परिवर्तन ल्याउन ज्यान फालेर हिंडेका मानिसहरुलाई समेत सामाजिक सञ्जालबाट मात्र हैन घरका चोटाकोठा र चियापसलहरुमा समेत मुख छाडेर गाली गर्दैछन् ? किन जनता सात सालको क्रान्तिदेखि झापा आन्दोलन हुँदै माओवादी जनक्रान्तिसम्मको जगमा स्थापित पार्टी र नेतृत्वलाई छोडेर कुनै सामाजिक परीक्षा पार नगरेका स्वतन्त्र व्यक्ति र पार्टीलाई भोट हाल्न उद्यत भइरहेछन ? आखिर जनता र मूलतः युवाले किन यो देश र राज्यमा उज्ज्वल भविष्यको सपना देख्न छोडे ? अथवा हामी हिजो
राजनीतिक क्रान्तिको नेतृत्व गर्नेहरुले किन उनीहरुलाई त्यो सपना देखाउन सकेनौं ?
प्रसिद्ध कुटनीतिज्ञ तथा लेखक हेनरी किसिंजर आफ्नो चर्चित बुक “लिडरसिप” मा लेख्छन्– ‘कुनै पनि समाज महान वनिरहन सक्दैन यदि उसले आफैंप्रति विश्वास गुमाउँछ, अथवा उसले प्रणालीगत रुपमा आफैँप्रतिको धारणामाथि प्रश्न उठाउँछ ।’ हो, नेपाल बन्दैछ, बन्छ र अझै राम्रो बनाउन सकिन्छ भन्ने विश्वास नेतादेखि जनतासम्ममा गुम्दै जानु; अथवा नेतृत्वको ज्ञान चक्षुमा स्वार्थको फुलो परेर वास्तविक धरातलीय यथार्थ देख्न वुझ्न छाड्नु र नयाँ युगको नयाँ नेपालको नक्सा कोर्नै नसक्नु हाम्रो अहिलेको परिस्थितिको एउटा प्रमुख कारण हो ।
यो साच्चै नै ठूलो विडम्वनाको विषय हो कि हिजो त्यत्रो युगान्तकारी क्रान्तिको नेतृत्व गर्ने र असम्भवलाई सम्भव वनाउने राजनीतिक नेतृत्व आज किन यसरी स्खलित भयो ? यसको सही जवाफ नपाउँदा नयाँ युवा पुस्ता कतै हिजोका जनक्रान्ति नै वेठिक त थिएन ? भन्ने भ्रममा पनि परेको छ । भित्री र वाहिरी प्रतिगामी शक्तिहरुले त्यो शंकाको आगोमा कट्टरपन्थको घिउ थप्ने दुष्प्रयास पनि गरिरहेछन् । तर देशको ऊर्जाशील र नयाँ संचार प्रविधिले पहुँचमा सहजता पु¥याएको ज्ञानविज्ञानवाट प्रशिक्षित युवा पुस्ताले वुझ्नैपर्दछ– २००७ सालमा वी.पी.कोइराला र पुष्पलाल श्रेष्ठहरुले शुरु गरेको लोकतान्त्रीकरण र आधुनिकीकरणको प्रक्रियालाई हाम्रो पुस्ताले मूलतः माओवादी जनक्रान्ति र त्यसका पूरक आन्दोलन मार्फत् सापेक्ष पूर्णतामा पु¥याएकै हो । जननिर्वाचित संविधानसभा मार्फत् संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ सालमा जारी गर्नु एउटा महान् अग्रगामी फड्को नै हो । अठारौँ शताव्दीको अमेरिकी स्वतन्त्रता संग्राम र फ्रान्सेली क्रान्तिदेखि रुसी र चिनियाँ क्रान्ति हुँदै नेपालको जनक्रान्तिसम्मका परिघटनाहरु मानव समाजको अग्रगमन र उन्नयनका महान् कोशेढुंगा हुन् । ती कोशे ढुंगाहरुमा उभिएर नै हामी अघि वढ्ने हो । जसरी न्युटनले भनेका थिए– ‘मैले अलि परसम्म देख्न सक्छु; किनकि म महामानवहरुको काँधमा चढेको छु ।’
तै पनि हामी कहाँ चुक्यौँ त ?
हामी तीन प्रमुख ठाउँमा चुक्यौँ । पहिलो, आन्तरिक आर्थिक–सामाजिक पछौटेपन र जटिल भारत –वेष्ठित भू–राजनीतिका कारणले हाम्रो जनक्रान्ति छिनाल क्रान्ति नभएर हलाल क्रान्ति भयो । पटकपटकका आन्दोलन र क्रान्तिहरुलाई हामीले एउटै झट्कामा पूरा नगरी पुरानै सत्ताधारी शक्तिहरुसंग सम्झौता गरेर टुंग्याउन वाध्य भयौँ । २००७ सालमा कांग्रेसले राणाहरुसंग सम्झौता गर्नुप¥यो । २०४६÷०४७ मा कांग्रेस र वाम मोर्चा (मूलतः एमाले) ले राजासंग सम्झौता गरे । २०६२÷०६३ मा माओवादीले कांग्रेस र एमालेसंग सम्झौता गर्नुप¥यो । पछिल्लो पटक संविधानसभावाट संविधान जारी गर्दा प्रत्यक्ष निर्वाचित् राष्ट्रपतीय प्रणाली, पहिचानमा आधारित संघीयता, संवैधानिक अदालत र जनलोकपालको व्यवस्था आदि कायम गर्न नसक्नु त्यही वाध्यात्मक सम्झौता नै प्रमुख कारण थियो । अहिले देशमा राजनीतिक अस्थीरता कायम रहनु र जनताको सुशासन र समृद्धिका आकांक्षा पूरा हुन नसक्नु मुख्य रुपमा यो त्रुटीपूर्ण शासकीय प्रणालीकै परिणाम हो । साथै विश्वका क्रान्तिहरुको इतिहासले भन्छ कि क्रान्तिपछि निश्चित अवधिसम्म क्रान्तिकारीहरुको नेतृत्व नयाँ वा रुपान्तरित सत्तामा भयो भने मात्रै राज्यका विभिन्न अंगहरुको अग्रगामी रुपान्तरण हुन्छ, लोकतान्त्रिक संस्था र ऐन–नियमहरु बन्छन र क्रान्तिको प्रतिफल आम जनताले प्राप्त गर्न सक्छन् । तर नेपालको हलाल क्रान्तिपछि सत्तामा पुरानै शक्तिहरु हावी हुँदै गए, संविधानमा लेखिएका कुराहरु समेत कार्यान्वयन् भएनन् र जनतालाई व्यवहारिक रुपमा खाशै परिवर्तनको प्रत्याभुति हुन सकेन ।
दोश्रो, झनै गम्भीर कुरा, जनक्रान्तिपछि क्रान्तिकारी नेतृत्वको वैचारिक र नैतिक रुपमा क्रमशः स्खलन, भ्रष्टीकरण र समग्र परिवर्तनकारी आन्दोलन विपरित दिशान्तरण हो । इतिहासको नियमै हो कि बेलैमा उपयुक्त विधि अपनाएन भने क्रान्तिपछिको संक्रमण र शान्तिकालमा क्रान्तिको रापताप, हिजोका उदात्त विचार तथा त्याग उत्सर्गको भावना सेलाउँदै गएर क्रान्तिकारीहरुको यथास्थितिवादी र प्रतिक्रान्तिकारी रुपान्तरण हुन थाल्दछ ।
कम्युनिष्ट देशहरुमा क्रान्तिपछि पार्टी भित्रैबाट नयाँ नोकरशाही पुँजीपति वर्ग जन्मेको कटु अनुभवबाट सिकेर माओले चीनमा पार्टी र नेतृत्वलाई जनताको निगरानीमा राख्ने नयाँ विधिहरु विकास गर्ने प्रयास गरेका थिए तर त्यो सफल हुनसकेको थिएन । हामीले पनि जनयुद्ध कालमा नै त्यस्तो खतराको पुनरावृत्ति हुने देखेर ‘एक्काइसौँ शताव्दीमा जनवादको विकास’ भन्ने प्रस्ताव मार्फत् नेतृत्वलाई कार्यकर्ता र जनताको निगरानीमा राख्ने केही विधि विकास गर्न खोजेका थियौं । तर नेपालमा जे नहुनु थियो त्यही भयो । कांग्रेस र एमालेको नेतृत्व त पहिले नै विभिन्न भ्रष्टाचार काण्डमा मुछिइसकेको थियो तर पछिल्लो क्रान्तिकारी शक्ति माओवादी र मधेश आन्दोलनका नेताहरु पनि त्यसबाट अछुत रहन सकेनन् । मूल नै धमिलिएपछि राज्य र समाजका सवै महत्वपूर्ण अंगहरुको भ्रष्टीकरणले देशको स्थिति भयावह बन्नु स्वभाविक भयो । अहिले देशमा उद्घाटित भैरहेका र अझै सतहमा लुकेर वसेका ठूला भ्रष्टचार प्रकरणहरुले त्यसैको संकेत गर्छन् ।
तेश्रो, लोकतन्त्रमा देशको नेतृत्व राजनीतिक दलहरुले गर्ने हुनाले कि त स्थापित प्रमुख दलहरु कांग्रेस, एमाले र माओवादीले वेलैमा आफुलाई रुपान्तरण गरेर देशका ज्वलन्त समस्या समाधान गर्न योग्य वनाउनु पर्दथ्यो कि तिनको विकल्पमा युग सापेक्ष नयाँ दलहरुको उदय हुनुपर्दथ्यो । एक्काइँसौँ शताब्दीको शुरुवात र डिजिटल क्रान्ति सहितको चौँथो औद्योगिक क्रान्ति संगसंगै पुराना सम्वर्धनवादी, उदार लोकतन्त्रवादी र साम्यवादी दलहरुका विचार, नीति कार्यक्रम, संगठनात्मक ढाँचा, नेतृत्व प्रणाली विश्वव्यापी रुपमै संकटग्रस्त बन्दै गइरहेका थिए । नेपाल जस्तो ढिलो लोकतान्त्रीकरण भएको देशका पार्टीहरु त झन समयको वेगसंग ताल मिलाउन सक्ने कुरै थिएन । पछिल्लो क्रान्तिकारी शक्ति माओवादीलाई शान्ति प्रक्रियामा आएदेखि नै नयाँ लोकतान्त्रिक ढंगले रुपान्तरण गर्ने हाम्रो प्रयास सफल भएको थिएन । यो युगीन चेतना र आवश्यकताकै आधारमा हामीले २०७० फागुन २५ को ‘नेपाल साप्ताहिक’मा प्रकाशित आलेख “खाँचो नयाँ शक्तिको” मार्फत् वैकल्पिक राजनीतिक शक्तिको निर्माण बारे सार्वजनिक विमर्श शुरु गरेका थियौँ । पहिले स्थानीय रुपमा केही पहल भए पनि त्यसले नै देशमा राष्ट्रिय रुपमा नयाँ वैकल्पिक पार्टी निर्माणको प्रयासलाई गति दिएको थियो । ‘नयाँ शक्ति’ देखि ‘सपा’, ‘जसपा’ हुँदै ‘नेसपा’ सम्मको हाम्रो प्रयासको परिणाम मिश्रित रहे पनि पछिल्लो चरणमा ‘रास्वपा’ र ‘स्वतन्त्र’ हरुको उदय तीव्र तर अनिश्चित प्रकृतिको रहेको छ । यसरी पुराना शक्तिहरुको ऐतिहासिक गतिहीनता र नयाँ शक्तिहरुको अनिश्चितता वीचमा देशको राजनीति डोलायमान भैरहेको अवस्थाले आम जनता र विशेषतः ऊर्जावान युवाहरुलाई उद्वेलित गर्नु स्वभाविक छ ।
यो ऐतिहासिक गतिविरोधलाई चिर्दै देशको राजनीतिलाई वैज्ञानिक विचार, ठोस नीति तथा कार्यक्रम र सक्षम नेतृत्व सहित अग्रगामी निकास दिनु आजको प्रमुख कार्यभार हो ।
१४ साउन २०८०