काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले ७ लाख ५२ हजार ९ सय ५६ जना पार्टी सदस्य रहेको दाबी गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार शुरु भएको केन्द्रीय समिति बैठकमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै उल्लेखित संख्यामा पार्टी सदस्य रहेको दाबी गर्नुभएको हो ।
अध्यक्ष दाहालको प्रतिवेदनमा सबैभन्दा बढी पार्टी सदस्य बागमतीमा रहेको उल्लेख गरिएको छ। अध्यक्ष दाहालले बागमतीमा १ लाख ४७ हजार ३ सय ५३, मधेशमा १ लाख १६ हजार ९ सय ७५, लुम्बिनीमा १ लाख १२ हजार ९ सय १०, कोशीमा ९९ हजार ६ सय १, गण्डकीमा ६६ हजार ६ सय ८७, कर्णालीमा ८५ हजार ७ सय ७४ र सुदूरपश्चिममा ८० हजार ४ सय ८२ जना पार्टी सदस्य रहेको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।
सांगठनिक प्रतिवेदनमा विभिन्न सम्पर्क कमिटी १९ हजार ३ सय १२, काठमाडौं उपत्यकामा १८ हजार ३ सय २५ र प्रवासमा ५ हजार ५ सय ३७ जना रहेको सांगठनिक उल्लेख गरिएको छ ।
अध्यक्ष दाहालले सांगठानिक प्रतिवेदनमा भदौदेखि कात्तिकसम्म तीन महिने अभियान चलाउने प्रस्ताव समेत गर्नुभएको छ ।
अभियानमा जनताको गुनासो र सुझावलाई ल्याएर मंसिरमा पार्टी सुदृढ गर्नको लागि विधान सम्मेलन गर्ने माओवादीको योजना छ । त्यसको लागि अध्यक्ष दाहालको प्रतिवेदनमा जनतासँग गरेको बाचाअनुसार सरकार र पार्टीले गरेको कामलाई लिएर अभियानमा हरेक नेता कार्यकर्ताले जनताको घरदैलोमा पुग्नुपर्ने प्रस्ताव गरिएको छ ।