काठमाडौं । पछिल्लो समय घरपालुवा चौपायामा महामारी बनेको लम्पी स्किन नियन्त्रणको लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदर्शन गरेको छ ।
एमालेको काठमाडौं महानगरपालिका कमिटीले लम्पी स्किन नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम नचालेको भन्दै बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । प्रदर्शनकारीले लम्पी स्किन देशव्पयापी रुपमा फैलिसक्दा समेत सरकारले आवश्यक चासो नदिएको बताएका छन् ।
वागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुँयालले प्रदर्शन बोल्दै लम्पी स्किन महामारी देशभर फैलिसक्दा समेत सरकार कानमा तेल हालेर बसेकाले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन नै गर्नुपरेको बताउनु भयो । उहाँले देशभरका किसानहरुलाई समस्या पर्दा सरकारलाई दुख्न नसकेको बताउनु भयो ।
प्रदर्शनमौ काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले देशको आर्थिक अवस्था थला परिरहेको बेलामा लम्पी स्किन रोगले सताइरहेको भन्दै सरकारले आवश्यक ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले रोग नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको र पशुवस्तुमा क्षति पुगेका किसानलाई आवश्यक क्षतिपूर्ति दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले लम्पी स्किन रोगको तत्काल नियन्त्रण गर्न सरकारले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताउनु भयो । उहाँले पशुलाई लम्पी स्किनको खोप दिनपनि सरकारले ढिलासुस्ती गरिरहेको आरोप लगाउनु भयो ।
प्रदर्शनमा सहभागीहरुले लम्पी स्किन महामारी घोषणा गर, किसानलाई तत्काल बीमा उपलब्ध गराउ, किसानलाई गोठगोठमा सेवा उपलब्ध गराउ, रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था गर, किसानलाई क्षतिपूर्ति र सहुलियत बैंक कर्जा उपलब्ध गराउ लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका थिए ।