काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले सुन तस्करीमा प्रधानमन्त्री पुष्पकमल दाहालको परिवारकै सदस्य र सचिवालय नै संलग्न रहेको आरोप लगाउनुभएको छ । एमाले नेता भट्टराईले एउटा रेडियोमा अन्तरवार्ता दिँदै त्यस्तो आरोप लगाउनुभएको हो ।
‘‘शृंखलावद्ध सुन तस्करीमा सरकारकै मान्छेको नाम जोडिएको छ, प्रधानमन्त्रीकी बुहारी, पूर्व उपराष्ट्रपतिकी बुहारीको पनि सुन तस्करीमा जोडिएको छ’ रेडियो अन्तरवार्तामा उहाँले भन्नुभएको छ– ‘‘प्रधानमन्त्रीको दाहिने र देब्रेतिर बस्ने मान्छेको नाम सुन तस्करीमा जोडिएको छ । अहिले राजस्व अनुसन्धान विभाग कसको नेतृत्वमा छ ? अस्तिसम्म प्रधानमन्त्रीको निजी सचिवालयमा बसेका नवराज ढुंगाना भन्ने व्यक्ति नेतृत्वमा बसेका छन् अनि हावा कुरा दिएर हुन्छ ? घटना के हो भनेर हेर्नु पर्दैन ? अहिलेसम्म कारबाहीमा को परिरहेको छ भन्दा भरिया मात्र परिरहेका छन् ।’
प्रधानमन्त्रीे परिवारकै सदस्य र सचिवालय नै सुन तस्करीमा संलग्न भएको कारण सरकारले छानविनको लागि उच्च स्तरीय समिति बनाउन नचाहेको एमाले नेता भट्टराईको आरोप छ । ‘सुन तस्करी प्रकरणमा प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीले प्रमाण लुकाउने काम गरिरहेका छन्’ अन्तरवार्तामा उहाँले भन्नुभएको छ– ‘सीआईबीले नामै किटान गरेका माओवादी पार्टीका उपाध्यक्ष, प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महरा र उनको छोरा बाहेकलाई मुद्दा चलाउन निर्देशन दिने गृहमन्त्रीले तस्करीको छानविन गर्छन् भनेर विश्वास गर्ने आधार छ ? जसले छानविन गर्छौं भनेका छन्, उनीहरुकै बारेमा छानविन गर्नुपर्ने भएपछि हामी (एमाले)ले उच्चस्तरीय छानविन समिति बनाउनुपर्छ भनेका हौँ ।’
सुन तस्करी प्रकरण छानविनको लागि एमाले उच्च स्तरीय समिति बनाउनुपर्ने अडानमै रहेको नेता भट्टराईको भनाई छ । ‘सुन तस्करी प्रकरण छानविनको लागि उच्च स्तरीय समिति गठन हुनुपर्छ भन्ने हाम्रो माग यथावत् ’ उहाँले भन्नुभएको छ – यसबाट हामी पछि हटेका छैनौं । तस्करी, अनियमितता र बेथितिबाट देशलाई मुक्त गर्न उच्चस्तरीय छानविन समिति चाहिन्छ । देशभित्र छाननि नहुने स्थितिमा अन्तर्राष्ट्रिय छानविनका लागि संयुक्त राष्ट्रसंघलाई गुहार्नुपर्ने अवस्था आउँछ । तस्करी र माफियागिरीको जालोका कारण नेपाल असफल राष्ट्रमा जाने हो कि भन्ने चिन्ता अन्तर्राष्ट्रिय समदुायमा देखिएको छ ।’
एमाले नेता भट्टराईले माओवादी पार्टीभित्रै भ्रष्टाचार, बेथिति मौलाएको उल्लेख गर्नुभयो ।