काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको बैठकमा नेतृत्वको चर्को आलोचना भइरहेको छ ।
बैठकमा सहभागी अधिकाँश केन्द्रीय सदस्यले पार्टी विधि र विधान अनुसार नचलाएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुप्रति असन्तुष्टि व्यक्त गरेका छन् । केन्द्रीय सदस्यहरुले सरकारले अहिले चालेका भ्रष्टाचार विरोधी कदमको भने प्रशंसा गरेका छन् । तर नेतृत्वको कार्यशैलीप्रति भने आक्रोश व्यक्त गरेका छन् ।
बैठकमा माओवादी केन्द्रको विभिन्न तहका कमिटीलाई कसरी चलायमान बनाउने ? पार्टी प्रभावकारी बनाउन ‘जनतासँग माओवादी केन्द्र पार्टी’ अभियान चलाउनुपर्ने देखि विधान सम्मेलन, विशेष महाधिवेशन लगायतका विषयमा छलफल .भइरहेको छ।
माओवादी केन्द्रले २०७८ पुसमा आठौं महाधिवेशन गरेको थियो । महाधिवेशनको २ वर्ष नपुग्दै फेरि विशेष महाधिवेशन प्रस्ताव भएको छ । केन्द्रीय समिति बैठकमा मंसिरमा विधान सम्मेलन गरेर फागुनसम्ममा विशेष महाधिवेशन गर्नुपर्ने बारे छलफल भइरहेको छ ।
स्थायी समिति सदस्य जयपुरी घर्तीले ‘पार्टीको अहिलेको आवश्यकता विशेष महाधिवेशन भएको बताउनुभयो । ‘विधान संशोधन गरे केन्द्रीय समितिको संख्या घटाउनुपर्छ’ उहाँले भन्नुभयो – विधान सम्मेलन भन्दा विशेष महाधिवेशनमा जानु उपयुक्त हुन्छ ’
पोलिटव्युरो सदस्य माधव सापकोटा सुवोधले पार्टी विभिन्न कमिटी भद्दा भएको भन्दै त्यसलाई घटाउनुपर्ने बताउनुभएको छ । ‘‘नेताहरुलाई कार्यकर्ता र जनतातिर फर्काउन वडा तहबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्छ भन्ने कुरा साथीहरुले राख्नुभएको छ’ उहाँले भन्नुभयो – ‘पहिले विधान सम्मेलन गरेर विशेष महाधिवेशन गर्ने पार्टीको तयारी छ । कतिपयले सम्मेलन नगरी महाधिवेशनतिर जाऔं भनिराख्नुभएको छ ।’
केन्द्रीय सदस्य लेखनाथ दाहाललेविधान सम्मेलनमा सांसददेखि पार्टी अध्यक्षसम्म कति पटक बन्ने भन्ने ठोस निर्णय गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘पार्टीको जिम्मेवारीमा को कति पटक रहने हो भन्ने विषयवस्तु किटानी गर्नुपर्छ’ उहाँले भन्नुभयो – ‘ त्यसमा पार्टीबाट सांसद, मन्त्री र प्रधानमन्त्रीको पनि कुरा टुंग्याउनुपर्छ । सबै कमिटी निर्वाचन प्रक्रियाबाट बताउनुपर्छ ।’
अर्का केन्द्रीय सदस्य नरबहादुर बिष्टले अहिलेको तरिकाले कुनै पनि हालतमा समाजवाद नआउने तर्क गर्नुभयो । ‘प्रचण्ड अध्यक्ष रहुँन्जेल यो पार्टी चल्छ’ उहाँले भन्नुभयो – त्यसपछि कसको हिम्मत छ ? माओवादी केन्द्र चलाउने’