काठमाडौँ । माओवादीमा अध्यक्ष पुष्पकमल दाहालको उत्तराधिकारी तयार नगरिएको भन्दै नेतृत्वको आलोचना भएको छ । तीन दशकभन्दा बढी पार्टी प्रमुख रहेका दाहालको कार्यशैलीको नेताहरूले खुलेर आलोचना गरेका छन् ।
चार दिनदेखि राजधानीमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै नेताहरूले ‘उही माओवादी, उही क्रान्तिकारी प्रचण्ड’ नरहेको बताएका छन् ।
उनीहरूले पार्टीमा आन्तरिक लोकतन्त्र धरापमा परेको, सामूहिक निर्णय प्रक्रिया त्यागिएको, नातावाद हावी भएको, इमान्दार नेता–कार्यकर्तालाई पाखा लगाइएको, अवसरवादी चलखेल भएको आरोप लगाउँदै सुधारको थालनी नेतृत्वबाटै हुनुपर्ने माग गरेका छन् ।
करिब डेढ वर्षपछि बसेको बैठकमा नेताहरूका आलोचना र सुझावलाई अध्यक्ष दाहालले चार दिनदेखि डायरीमा टिप्नुभएकाे छ । सबै केन्द्रीय सदस्यले बोलिसकेपछि उहाँले आइतबार त्यसको जवाफ दिने कार्यतालिका छ ।
बैठकमा शनिबार उपमहासचिव वर्षमान पुनले दाहालको विकल्प तत्काल कसैले नखोजेको बताउँदै उत्तराधिकारी तयार नगरेकामा असन्तुष्टि व्यक्त गर्नुभयाे । उहाँले उत्तराधिकारी निर्माणको विधि विकास गर्नुपर्ने बताउनुभयाे ।
‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु,’ उहाँले भन्नुभयाे, ‘तर उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔं ।’
माओवादीले लिएको बाटो सही भए पनि विधि नहुँदा काम प्रभावकारी नभएको उहाँकाे भनाइ छ । ‘पार्टीमा समस्या विचारको नभई विधिको हो, पार्टी संगठनमा तीन एकको (पाका, प्रौढ र युवा) नीति लागू गर्नुपर्छ,’ उहाँको भनाइ थियो । विधान सम्मेलन गरी सांगठनिक समस्या हल गर्नर्पुर्ने उहाँको माथ छ । पार्टी पुनर्निर्माणको ऐतिहासिक सम्भावना भएकाले हाल सरकारको मोर्चा बलियो बनाएर जानुपर्नेमा उहाँले जोड दिनुभयाे ।
पुनले आफ्नै पार्टीका नेता भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए पनि उन्मुक्ति दिन नहुने विचार राख्नुभयाे । ‘सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गराएको छ, अध्यक्ष कमरेड तपाईंको अभियानमा हाम्रो दह्रो साथ छ,’ पुनको भनाइ थियो, ‘कुनै पनि हालतमा यो अभियान रोकिनु हुँदैन, छानबिन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्छ ।’
उहाँले भ्रष्टाचारविरुद्ध चालिएका कदम देश, समाज र पार्टीको समेत शुद्धीकरण अभियान भएको बताउनुभयाे ।