काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रमा पदाधिकारी तथा स्थायी समिति सदस्यहरुको विभागीय जिम्मेवारी हेरफेर भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार पदाधिकारी तथा स्थायी समिति सदस्यहरुको जिम्मेवारी हेरफेर गर्नुभएको हो । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएकाे छ । अध्यक्ष दाहालले हेरफेर गरिएको जिम्मेवारी केन्द्रीय समिति बैठकको समापनमा प्रस्तुत गर्नुभएको छ ।
समग्र पार्टीको जिम्मेवारी अध्यक्ष दाहालले लिनुभएको छ । उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ ।
अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिइएको छ । पम्फा भुसालले जनसंगठन हेर्ने जिम्मा पाउनुभएको छ ।
केन्द्रीय समिति बैठकमा नेतृत्वको कडा आलोचना गर्नुभएका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाउनुभएको छ। अध्यक्ष दाहालले उपमहासचिव वर्षमान पुन अनन्तलाई उपत्यका विशेषको जिमेवारी तोकिएको छ । सम्पर्क विशेषमा गिरिराजमणि पोखरेललाई इन्चार्ज तोकिएको छ ।
चन्द्रप्रकाश खनाल बलदेवलाई कर्णाली प्रदेश इन्चार्ज बनाइएको छ। सुदुरपश्चिमको जिम्मा डिलाराम आचार्यले पाउनुभएको छ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई छोडेर अध्यक्ष दाहाललाई साथ दिनुभएका देवेन्द्र पौडेललाई गण्डकी प्रदेशको जिम्मेवारी तोकिएको छ ।
कोशी प्रदेशमा चक्रपाणि खनाल, मधेसमा लिलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्य इन्चार्ज तोकिएको छ ।
माओवादी केन्द्रले ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’संचालन गर्ने भएको छ । अध्यक्ष दाहालले केन्द्रीय समिति बैठक समापन गर्दै अभियानलाई आफू अभियान लिएर ७ प्रदेशको ७ वटा वडामा पुग्ने बताउनुभयो ।
जनताको एउटा घर पनि नछाड्ने उहाँको भनाई छ । अध्यक्ष दाहालले जनताको गुनासो र आलोचना सुन्ने, शहीद परिवारको आफन्तलाई भेट्ने ३ महिने अभियान टुंग्याएर विधान सम्मेलन गर्ने उल्लेख गर्नुभयो।