काठमाडौं । आँखा पाक्ने रोगको सङ्क्रमण देशभर प्रकोपको रुपमा फैलिएको छ ।
चिकित्सकका अनुसार हरेक बर्खायाममा आँखा पाक्ने समस्या देखिन्छ । तर, यसपाली भने धेरै ठाउँमा प्रकोपको रुपमा नै सङ्क्रमण फैलिरहेको छ । आँखामा सङ्क्रमण हुँदा आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने लगायतका लक्षण देखिन्छ ।
बिरामीको परेला सुन्निने, आँखामा केही बिझे जस्तो महशुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिने तिलगङ्गा अस्पतालका नेत्ररोग विशेषज्ञ चिकित्सक इन्दिरा पौडेलले बताउनुभयो । रोग फैलिएसँगै देशभरका आँखा अस्पतालमा बिरामीको भिड बढेको छ । तनहुँ, चितवन, धनुषा, सिन्धुली, नवलपरासी लगायतका केही विद्यालय बन्द भएका छन् । प्रकोप फैलिएका ठाउँमा रहेका अस्पतालका चिकित्सक र अभिभावकको आग्रहमा विद्यालय बन्द गरिएको हो ।
धेरै ठाउँमा प्रकोपको रुपमा सङ्क्रमण फैलिरहेकाले महामारी फैलिने खतरा रहेको भन्दै डाक्टरले सावधानी अपनाउन सुझाव दिएका छन् । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका वरिष्ठ नेत्र रोग विशेषज्ञ चिकित्सक इन्दुप्रसाद ढुङ्गेलका अनुसार अहिले आँखामा देखिएको सङ्क्रमण सरुवा रोग हो । यो रोगबाट जोगिन हातले आँखा नछुन, बारम्बार हात धुन र सङ्क्रमित बिरामीबाट टाढै रहन चिकित्सकको सुझाव छ । चिकित्सकका अनुसार सामान्यतयता यो रोग एकदेखि दुई साताभित्र निको हुन्छ ।
तर, सावधानी नअपनाए, जथाभाबी औषधिको प्रयोग गरे दृष्टि नै गुम्ने खतरा हुन्छ । आँखामा कुनै पनि समस्या देखिए नजिकैको आँखा अस्पतालमा जँचाएर मात्र औषधि प्रयोग गर्न चिकित्सकहरुको आग्रह छ ।