धादिङ । आफ्ना तीन छोरीलाई यौनजन्य हिंसा गर्ने धादिङका ३६ वर्षीय एक पुरुष अहिले पुर्पक्षका लागि थुनामा छन् । बालिकालाई पटक–पटक यौनहिंसा गरेका कारण मानसिक रुपमा समेत विक्षिप्त भएका छन् । एक जना बालिकाको गर्भमा बच्चा बसेका कारण सुरक्षित गर्भपत समेत गराउनु परेको थियो ।
सुरक्षित आवास गृहमा रहेका पीडितहरु एउटा सरकारी विद्यालयमा अध्ययन गरिरहेका छन् ।
परिवारबाट हिंसामा परेपछि पीडितहरुको घर फर्कने अवस्थानै नभएपछि सुरक्षित आवास गृह अभिभावक बनाएर बसिरहेका बालिकाहरुलाई न्याय पाएको महसुस कसरी हुन्छ भन्ने नै अल्मलमा छन् ।
आरोपितलाई कारबाही भएर, जेल हालेर आफूले न्याय पाएको महसुस नहुने भएको पीडित बालिकाको भनाइ छ । तीन बालिका मात्र नभएर अधिकांश महिलाहरु हिंसामा पर्ने गरेकाले उनीहरु पुन:स्थापना समेत हुन सकेका छैनन् ।
धादिङ बेसीमा रहेको सुरक्षित आवासगृहमा १३ बालिका बसिरहेका छन् । उनीहरुमध्ये ६ जना परिवारबाट यौनहिंसामा परेकाहरु छन् भने सबैजना चिनेका मानिसहरुबाट हिंसामा परेको सहयात्री समाज नेपालका अध्यक्ष गीता खनालले जानकारी दिनुभयो ।
सहयात्री समाजले नेपाल सरकारको नाम मात्रको सहयोग लिएर सञ्चालन गरिरहेको सुरक्षित आवास गृहमा घरमा पुन:स्थापना गर्न नसकिने किसिमका बालिकाहरु राखिएकोले प्रदेश सरकार, स्थानीय सरकारले सहयोग पुर्याउनुपर्ने धादिङ बेसीमा आयोजित लैंगिक हिंसा विश्लेषण कार्यक्रममा सहभागिहरु बताउनुभएको छ ।
आर्थिक वर्ष सुरक्षित आवास गृहको सेवा लिन आएका मध्ये ५२ प्रतिशत महिलाहरु अझैपनि पारिवारिक रुपमा पुन:स्थापना गराउन नसकिएको र यो अवस्था न्यायका हिसावले विकराल रहेको सहयात्री समाज नेपालका राधिका सापकोटाले बताउनुभयो ।
हिंसामा परेका मध्ये ६० प्रतिशत महिला आफ्नै श्रीमानबाट पीडित भएको र घर निकालिएको तथ्य सार्वजनिक गरिएको छ । नचिनेको वा अपरिचित मानिससँग जोगिनु पर्छ भन्ने सन्देश दिने गएपनि धादिङमा भएका सबै यौनहिंसाका घटनामा चिनेको मानिसले मात्र गरेको पाइएको हो ।
परिवारबाट भएका यौनहिंसाका घटनापछि पारिवारिक पुनरमिलन गराउन नसकिने भएकाले सुरक्षित आवासगृहमा ५ वर्षदेखि १ दिनसम्मको सेवा लिने महिलाहरु छन् । हिंसा प्रभावितहरुका लागि सरकारले बनाएर सञ्चालन गर्नु पर्ने सुरक्षित आवास गृह सहयात्री समाज नेपालले कठिन अवस्थामा पनि सञ्चालन गरिरहेको छ ।
प्रदेश सरकारले अत्यन्तै न्यून रकम सहयोग उपलब्ध गराएको छ । बागमती प्रदेश सरकारले गत आवमा ३ लाख ५० हजार र नीलकण्ठ नगरपालिकाले ३ लाख रुपैयाँ उपलब्ध गराएको छ । यो आवासगृह सञ्चालन गर्ने जिम्मेवारी धादिङका १३ पालिकाको भएपनि कुनैपनि पालिकाले आवास गृह सञ्चालनमा लागि सहयोग उपलब्ध गराएको छैन ।
सबै पालिकामा लैंगिक हिंसा कोष भएपनि यो रकम समेत प्रयोगमा ल्याउने नगरेकाले यसबारेमा पालिकासँग छलफल गरेर समन्वयको वातावरण बनाउने प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले बताउनुभयो । हिंसा प्रभावितहरुलाई अभिभावको रुपमा सरकारले समेत राख्न पाठाउने एकमात्र सहयात्री समाजको आवास गृह भएकाले प्रहरीले मात्र नभएर स्थानीय सरकारले समेत सघाउन प्रहरी उपरीक्षक गौतम मिश्रले आग्रह गर्नुभयो ।