काठमाडौं । नेपाल उड्डयन प्राधिकरणले औपचारिक जानकारीबिना नै उडानमा प्रतिबन्ध लगाएकोप्रति सिम्रिक एयरले आपत्ति जनाएकाे छ । प्राधिकरणले बिहीबार सिम्रिक एयरकाे उडानमा प्रतिबन्ध लगाएकाे समाचार सञ्चारमाध्यममा सम्प्रेषण गरेकोमा कम्पनीले आपत्ति जनाएको हाे ।
प्राधिकरणलाई तिर्नुपर्ने बक्यौताको सम्बन्धमा सञ्चार माध्यममा आएजस्तो वास्तविकता नभएको एयरले प्रेस विज्ञप्तिमार्फत् प्रष्ट पारेकाे छ ।
'नेपाल उड्डयन प्राधिकरणको पछिल्लो निर्देशनअनुसार सिम्रिक एयर बिहीबार गोरखाको स्यालामा चार्टर्ड उडानको लागि अनुमति लिन पुग्यो। तर, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सिम्रिक एयरको उडानमा प्रतिबन्ध लगाउन भनेका छन् भन्दै एयर ट्रान्सफर डिभिजनले उडान अनुमति नदिएपछि कम्पनीले आफूमाथि लागेको प्रतिबन्ध बल्ल थाहा पायो।' सिम्रिक एयरले भनेकाे छ।
वार्षिक रूपमा खाताबन्दीको क्रममा छुटफुट तथा बक्यौता राफसाफ नियमित प्रक्रिया भएको र समयअगावै र जानकारीबिना प्रतिबन्ध लगाउने प्राधिकरणको व्यवहार कानुनसम्मत् नभएको कम्पनीका महाप्रबन्धक मुरलीधर जोशी बताउनुभयाे।
‘हामीले सेवा लिएबापत प्राधिकरणले बिल पठाउने र हामीले तिर्ने गर्छौं। यो क्रममा कति हिसाबको बिलिङ छुटिरहेको हुन्छ, कतिको हामीले दाबी गरिरहेका हुन्छौं। वर्षको अन्तिममा हिसाब मिलान गरिन्छ, प्राधिकरणले पठाएको पत्रअनुसार तीन–चार ठाउँको हिसाब तिर्नुपर्ने देखाएको थियो,’ जोशीले भन्नुभयाे, 'सोहीअनुसार रुजु गर्ने क्रममा नै कम्पनी रहेको थियो। फेरि, कम्पनीले कुन विमानस्थलको कति बक्यौता भनी बुधबार अर्थात् साउन २४ गते मात्र कम्पनीलाई चिठी पठाएको थियो।' उहाँका अनुसार कम्पनीले विमानस्थलमा लिएको सेवाबापत विभिन्न शीर्षकमा वार्षिक करिब २ करोड रुपैयाँ प्राधिकरणलाई तिर्ने गर्छ।
सञ्चारमाध्यममा आएका समाचारप्रति कम्पनीले खण्डन गर्दै प्रेस विज्ञप्ति निकालेको छ। सिम्रिक एयरको नाममा प्राधिकरणले यही साउन २१ गते चलानी नम्बर १७ को पत्रअनुसार ७ दिनभित्र हिसाबमिलान गर्न आउन भनी पत्राचार गरेको विज्ञप्तिमा उल्लेख छ।
७ दिनको समयअगावै बदनियतपूर्ण तरिकाले, पूर्वाग्रही ढगंले, प्रतिशोध साँध्ने उद्देश्यले आफ्नो अधिकारको दुरुपयोग गरी यस संस्थाको गरिमामा आँच पुर्याउने कपोलकल्पित झुटा र भ्रामक समाचार सम्प्रेषण गरेको कम्पनीको भनाइ छ।