काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पाकिस्तानी मोडेलको राजनीति शुरु गरेको बताउनु भएको छ ।
प्रमुख प्रतिपक्ष दलका नेता ओलीले गुरु प्रसाद लुइँटेल अध्ययन तथा विकास केन्द्रद्वारा शनिबार आयोजित कार्यक्रममा कांग्रेस सांसद सुनिल शर्माको पक्राउले पाकिस्तानी मोडेलको राजनीतिको पछिल्लो रूप देखिएको टिप्पणी गर्नुभयो ।
‘मैले हिजो प्रधानमन्त्रीलाई पनि भनेको छु, तपाईँहरूले पाकिस्तानी मोडेलको राजनीति शुरु गर्नुभयो, यसको अन्त्य यहाँ हुँदैन’ कार्यक्रममा उहाँले भन्नुभयो- ‘धेरै नहौसिन भनेर मैले भनेको छु । सुन तस्करीको विरोध गर्दा सुनिल शर्माले स्कुल पढ्दाको कुरा उठाएर गिरफ्तार गरिएको छ । यो भन्दा नांगो नाच के हुन सक्छ ?’
एमाले अध्यक्ष ओलीले सुनिल शर्माको गिरफ्तारी सामान्य घटना नभएको भन्दै विरोधमा बोल्नेलाई हतकडी लगाउने राजनीतिक प्रचण्ड र नारायणकाजी श्रेष्ठले शुरु गरेको उल्लेख गर्नुभयो । यो शुरुवात मात्र भएको र यसले गम्भीर मोड लिन बाँकी रहेको ओलीको दाबी छ ।
‘सुनिल शर्माले के गरेका थिए ?’ उहाँले प्रश्न गर्नुभयो - ‘सुन तस्करीको उच्चस्तरीय छानबिन होस, गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ भन्दा हतकडी लिएर उनको घरमा पठाइयो । यो के हो भने, हाम्रो विरोधमा कोही बोल्छ भने सुनिल शर्मा बनाउँछौ भनेको हो ।’
स्कुल पढ्दा साथीको चिट चोरेको, प्रमाणपत्र केरमेट भएको जस्ता कुरा समेत उठाएर विरोधीलाई ठेगान लगाउने खेल शुरु भएको ओलीको भनाई छ ।