काठमाडौं । सरकार ढाल्न प्रयासरत प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले झन् कडा एक्शन लिने भएको छ ।एमालेले सुन तस्करी प्रकरणमा गरिएको पक्राउलाई लिएर सरकारविरुद्ध कडा एक्शन लिन लागेको हो ।
एमालेले सुन तस्करी प्रकरण छानविनको लागि उच्चस्तरीय समिति बनाउनु पर्ने माग गर्दै संसद अवरुद्ध पार्दै आएको छ । सुन प्रकरणमा कारबाही चलिरहेकै बेला प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रको विषयलाई लिएर प्रहरीले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा न्यौपानेलाई पक्राउ गर्यो । तर सांसद शर्मालाई काठमाडौं जिल्ला अदलतले नथुन्न आदेश दियो । अदालतको आदेशपछि सांसद शर्मा थुनामुक्त भइसक्नुभभएको छ । सांसद शर्माले थुनाबाट निस्कने बित्तिकै वर्तमान गठबन्धन सरकार ढल्ने चेतावनी दिनुभएको छ । सांसद शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा समेत गर्नुभएको छ ।
एमालेले सांसद शर्माको प्रक्राउ प्रकरणलाई गम्भीर रुपमा लिएको छ । एमाले अध्यक्ष ओलीले सरकारले पाकिस्तानी मोडेलको राजनीति शुरु गरेको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ ।
‘मैले हिजो प्रधानमन्त्रीलाई पनि भनेको छु, तपाईँहरूले पाकिस्तानी मोडेलको राजनीति शुरु गर्नुभयो, यसको अन्त्य यहाँ हुँदैन’ ओलीले शनिबार भन्नुभएको छ ‘धेरै नहौसिन भनेर मैले भनेको छु । सुन तस्करीको विरोध गर्दा सुनिल शर्माले स्कुल पढ्दाको कुरा उठाएर गिरफ्तार गरिएको छ । यो भन्दा नांगो नाच के हुन सक्छ ?’
एमाले अध्यक्ष ओलीले सुनिल शर्माको गिरफ्तारी सामान्य घटना नभएको भन्दै विरोधमा बोल्नेलाई हतकडी लगाउने राजनीतिक प्रचण्ड र नारायणकाजी श्रेष्ठले शुरु गरेको टिप्पणी गर्नुभएको छ ।
सुन तस्करी, सांसद शर्माको पक्राउ प्रकरण र संसद् अधिवेशन लगायतका विषयमा पार्टीको धारणा सार्वजनिक गर्न एमालेले आज दिउँसो विशेष पत्रकार सम्मेलन गर्दैछ ।
पार्टी मुख्यालय च्यासल दिउँसो १२ः४५ बजे हुने पत्रकार सम्मेलनमा वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन बिष्टले जानकारी दिनु भएको छ। विशेष पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।