काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी छानविनको लागि उच्चस्तरीय स्वतन्त्र छानविन समिति बनाउनै पर्ने बताउनुभएको छ ।
अध्यक्ष ओलीले पार्टी मुख्यालय च्यासलमा आइतबार आयोजित विशेष पत्रकार सम्मेलनमा वहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय समिति बन्नुपर्ने उल्लेख गर्नुभयो । सुन तस्करीको छानविनको लागि संसदीय समिति एमालेले स्वीकार नगर्ने ओलीको भनाई छ ।
‘संसदीय समिति कस्तो हुन्छ ? भनेर पोहोर नै हेरियो । ‘सभापति उहाँहरुकै चाहिन्छ, बहुमत उहाँहरुकै चाहिन्छ’ सम्मेलनमा उहाँले भन्नुभयो ‘यो पनि छानबिन गर्नैपर्दैन, त्यो पनि छानवि गर्नुपर्दैन भन्छ । सुन तस्करीको कहानी नै गलत हो, प्रतिपक्षले बनाएको हो भन्ने बेर छैन ।’
प्रमुख प्रतिपक्ष दलका नेता समेत रहनुभएका ओलीले सुन तस्करी छानविन संसदीय समितिले गर्न नसक्ने तर्क गर्नुभयो । ‘अहिले गठबन्धनले संसदीय मर्यादा राखेर छानविन गर्न सक्दैन’ उहाँले भन्नुभयो – ‘दलीय गठबन्धन अगाडि आउँछ ।’
एमाले अध्यक्ष सुन तस्करी सरकारकै मिलेमतोमा भइरहेको आरोप लगाउनुभयो । ‘एउटा मात्रै माध्यमबाट क्विन्टलका क्विन्टल सुन ल्याएको छ, यस्तो कम्पनी कसरी आएको छ?’ उहाँले भन्नुभयो – ‘त्यसको मान्छेलाई नागरिकता कसले दियो रु त्यो सिफारिसको प्रतिवेदन कहाँ छ ? त्यो गायब छ।’
ओलीले संसद सत्तापक्षले अवरोध गरेर आफूहरूलाई बोल्न नदिएको टिप्पणी गर्नुभएको छ ।
‘संसद् अवरोध गर्नै हुँदैन। अवरोध गर्ने परिस्थिति ल्याउनु हुँदैन। संसद् देश र जनताका लागि काम गर्ने थलो हो’ उहाँले भन्नुभयो – जनता र देशका काम निर्बाध रूपमा काम गर्न पाउनुपर्छ। संसद् देश र जनताका पक्षमा आवाज उठाउने। सरकारमा भए रक्षा गर्ने, नभए रक्षाका निम्ति दबाब दिने थलो हो। संसद् निदाएर, सुतेर बस्ने ठाउँ होइन। संसद् चलोस् न त। संसद् चल्नुपर्छ तर, बरु बोल्नु हुँदैन भन्ने होइन।’
अध्यक्ष ओलीले देशको अर्थतन्त्र सरकारकै कारणले ध्वस्त भएको भन्दै एमालेलाई सरकारमा कुनै रुचि नभएको बताउनुभयो । ‘हामीले सत्तातिर हेरेको छैन। हामीले त्यता हेरेका पनि छैनौँ’ उहाँले भन्नुभयो – ‘ यसको अर्थ हामीले हेरेको छैन भनेपछि सरकारले जे गरे पनि ढुक्क रहेछ नि भन्ने कुरा चल्दैन। जे पनि गर्न पाउँदैन।’