काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता प्रमाणित भए पदमा एक मिनेट पनि नबस्ने बताउनुभएको छ ।
अर्थमन्त्री डा महतले आइतबार कांग्रेस संसदीय दल बैठकमा सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता प्रमाणित गर्न चुनौती समेत दिनुभयो । अर्थमन्त्री डा महत सांसद सुनिल शर्मा पक्राउ प्रकरण समेत आफ्नो दोष नभएको स्पष्टिकरण दिनुभएको छ । ‘जुन पछिल्लो घटना घट्यो पक्राउको । हुनुपर्थ्यो, पर्दैनथ्यो टाइमिङको प्रश्न छ’ उहाँले भन्नुभयो – ‘त्यसभन्दा जे उहाँले राख्नुभयो, त्यो उचित हो ?’
सांसद शर्माले प्रतिनिधिसभाको साउन १० गतेको बैठक र सार्वजनिक मञ्चमा सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेको भन्दै राजीनामा दिनुपर्ने बताउनुभएको थियो । शर्माले पक्राउ परेर थुना मुक्त भएपछि पनि सुन तस्करी प्रकरणमा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको कनेक्शन रहेको आरोप लगाउँदै आउनुभएको छ ।
अर्थमन्त्री डा महतले सासंद शर्माप्रति लक्षित गर्दै भन्नुभयो ‘यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म यहाँ (अर्थमन्त्री पदमा) एक मिनेट पनि बस्दिनँ ।’
अर्थमन्त्री महतले आफूले देश र पार्टीको हितमा काम गरिरहेको तर पार्टीभित्रबाटै लाञ्छना लगाउने कार्य भइरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ‘सिद्धान्त, नीतिगत विषयमा मतभेद हुन सक्ला, तर कुनै पनि बहानामा होच्याउने, लाञ्छना लगाउने ? उहाँले आक्रोश व्यक्त गर्नुभयो– यही मौका हो, सकिहालोस् भन्ने आफू र आफ्नो दाइ (डा रामशरण महत) को ट्र्याक रेकर्ड र संस्कार दुबै नभएको भन्ने ? मैले यस्तो कुरा गरेर सरकारमा बस्ने कल्पना पनि गर्न सक्दिन साथीहरुलाई शंका लाग्छ भने भन्नुस् । साथीले पनि भनेन’, डा। महतले भने, ‘यो बाहिर बोल्दै हिँड्नु ठीक हो ? पार्टीमा अनुशासन छैन र? त्यसको आधार हुनु पर्दैन ?’
अर्थमन्त्री महतले लोभ लालच राखेको भए आफूले कर निर्धारण अनेक गर्नसक्ने भन्दै तर त्यस्तो नगरेको दाबी गर्नुभयो ।