रुपन्देही । अविरल वर्षाको कारणमा लुम्बिनी प्रदेशको बर्दियामा २ सय भन्दा बढी घर डुबानमा परेका छन् ।
बाढीबाट गुलरिया नगरपालिकाका ३ जना बेपत्ता भएको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिनु भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार गुलरियाको वडा नम्बर १२, ८ र २ का ३ जना बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य भइरहेको छ ।
बाढीले बगाएर गुलरिया नगरपालिका(१२ भैंसाहीका बालकृष्ण थारु, वडा नम्बर ८ थपुवा गाउँका अक्षय थारु र गुलरियाको पण्डितपुरका महेश चौधरी बेपत्ता भएको बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिनु भएको छ । । बेपत्ता भएकाहरुलाई नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले खोजी गरिरहेको छ ।
गुलरिया, ठाकुरबाबा, बासगढी र बारबर्दिया नगरपालिकामा धेरै घर डुबेका छन् । अर्यालका अनुसार यी पालिकामा नदी पसेका कारण धेरै स्थानीय प्रभावित भएको तर यथार्थ तथ्यांक आउन बाँकी छ ।
ठाकुरबाबा नगरपालिकाको वडा नंम्बर २, ६ र ७ र गुलरिया नगरपालिका वडा नम्बर ५ का गरी १२४ घर डुबेका छन् । शनिबार रातिदेखिको भारी वर्षाका कारण गुलरिया नगरपालिकामा बबई नदी र ठाकुरबाबा नगरपालिकाको औराही तलबेलुवा गिठे लगायतका खोलाको बाढीले घरू डुबानमा परेका हुन् । ठाकुरबाबा नगरपालिका वडा नम्बर २ मा ४५, वडा नम्बर ६ मा १७ र ७ नम्बर वडामा ५० घरधुरी डुबेका छन् ।