काठमाडाैं । आठ जना बंगलादेशी नागरिकलाई अपहरण गरी शरीर बन्धक बनाएको कसुरमा काठमाडौं अपराध अनुसन्धान महाशाखाले पक्राउ परेका पाँच जना बंगलादेशी नागरिकसहित सात जनालाई सार्वजनिक गरेको छ ।
महाशाखाले आईतबार पत्रकार सम्मेलन गर्दै आठ जना बंगलादेशी नागरिकहरुलाई अपहरण गरी शरीर बन्धक बनाएका दुई जना नेपाली र पाँच जना बंगलादेशी नागरिकलाई सार्वजनिक गरेको हो ।
महाशाखाले बन्धक बनाइएका ८ जना बंगलादेशी नागरिकलाई काठमाडौंका विभिन्न स्थानहरुमा रहेका होटल तथा सेफ हाउसमा राखिएको अवस्थामा उद्धार गरिएको जनाएको छ । पक्राउ पर्नेमा बंगलादेशी नागरिक अमिर हुसैन, एम डि मुसर, सलिम मिया, जहागिर आलम, तहमिन बेगम र २ जना नेपाली नागरिक रोशनी राई र तारा नेपाली रहेको महाशाखा प्रमुख डा. मनोज केसी जानकारी गराउनुभयो ।
पक्राउ परेकाहरुले बन्धक बनाइएका ८ जना बंगलादेशी नागरिकको साथबाट उनीहरुको पासपोर्ट, भिसा र नगदसमेत लुटेको महाशाखाले जनाएको छ ।
यस्तै, उनीहरुले बन्धक बनाइएकाहरुको परिवारबाट भिडिओ कलमार्फत् २० लाख टाँका फिरौती समेत माग गरेको खुलेको छ । उनीहरुले फिरौती नदिएमा ज्यान मार्ने धम्की समेत दिएको महाशाखाले जानकारी दिएको छ । यसबाहेक बन्धक बनाइएका महिलाहरुलाई ब्युटीसियनको तालिम दिने बहानामा मसाज सेन्टरमा जबरजस्ती काम गर्न लगाई यौन दुर्व्यवहारसमेत गरेको जनाईएको छ ।
पक्राउ परेका आठै जनालाई मुलुकी अपराध संहिता २०४७को दफ २११ र २१२ तथा संगठित अपराध निवारण ऐन २०७० बमोजिमको कसूरमा थप अनुसन्धान तथा कारवाहीका लागि आइतबार प्रहरी परिसर काठमाडौं पठाईएको काठमाडौं अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।