दाङ । पूर्व उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले चिनियाँ व्यापारीले सामान रोकियो भनेपछि आफूले भन्सारका अधिकारीहरुसँग कुरा गरेको बताउनु भएको छ ।
पूर्व उपप्रधानमन्त्री महराले मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरी आफूलाई भन्सारमा रोकिएको त्यो सामान सुन भन्ने थाहा नभएको प्रष्टीकरण दिनु भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले .प्रतिवेदनमा भेपमा लुकाएर सुन तस्करीमा संलग्न चिनियाँ व्यापारी लुई र डोओजिङ वाङसँग माओवादी नेता महरा र उहाँका छोरा राहुलसँग पटक पटक संवाद भएको उल्लेख गरेको छ ।
महराले वाङसँग १० १२ वर्षदेखि चिनजान र आउजाउ रहेको भन्दै उनलाई फलफूल ब्यापारीका रुपमा चिनेको बताउनु भएको छ । ‘उनी फलफूल ब्यापारी हुन् । म सँग टेलिफोन वार्ता भएको पनि होइन, मसँग भेटेर, उनले हाम्रो फलफूल’ महराले अलि अकमक्किँदै भन्नुभयो उनको एकजना साथीले त्यो सुन। सुनको कुरै गरेनन्, सुनको स पनि उच्चारण गरेनन् । इलेक्ट्रिक चुरोट भेपको सामान आछ भन्सारमा छुटाउन मद्दत गर्नुपर्यो भने । ‘मैले के भनेँ भने केही इलिगल सामान होला भनेँ । इलिगल होइन, लिगल हो भने के प्रोब्लम हो, त्यसकारण मैले भन्सारका साथीहरुसँग कुरा गरेर लिगल सामान हो भने समस्या के पर्यो, कानुन अनुसार काम गर्नुहोला अथवा के गर्नुपर्छ रोक्नुपरे रोक्नु, छोड्नुपरे छोड्नु, लिलाम गर्नुपरे लिलाम गर्नु, जे गर्नुपर्ने कानुन अनुसार गर्नु, यत्ति हो भएको ।’
महराले सुन प्रकरण अनुसन्धानमा आफूले प्रहरीलाई सहयोग गर्छु भनिरहेको तर अहिलेसम्म नबोलाएको उल्लेख गर्नुभयो । ‘मैले त भनेको छु, मेरो वक्तव्यमा पनि, कुनै पनि छानबिनको निमित्त तयार छु भनेकै छु’ उहाँले भन्नुभयो मलाई बोलाउन म त अनुसन्धानका लागि के गर्न पर्छ तयार छु, खै त बोलाउदैन । अनुसन्धानका निमित्त म भाग्ने कुरै छैन ।’
महराले आफू पार्टी कार्यक्रमका लागि प्रधानमन्त्रीकै आग्रहमा दाङ आएको बताउनुभयो । ‘म त अहिले नै जान सक्छु’ उहाँले भन्नुभयो ।