चितवन । भरतपुरमा शव बोकेको जीपसहित ७ सवारी साधन एकैठाउँमा ठोक्किँदा २० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित टिकौली जंगलमा बुधबार दिउँसो पौने १२ बजे शव बोकेको जीपसहित ७ सवारी साधन एकै ठाउँमा ठोक्किएको हो ।
दुर्घटनामा २० जना भाइते भएको तर त्यस मध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुरुमा ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले विपरीत दिशामा रहेको शव बोकेको ना २ च ८४४६ नम्बरको बोलेरो जिपलाई ठक्कर दिएको थियो । त्यसपछि जीप अनियन्त्रित भएर ५ मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा चितवनको खैरहनी नगरपालिका ४ का अन्दाजी ६० वर्षीय कृष्ण बहादुर तामाङ, खैरहनी–१ का ८२ वर्षीय जितबहादुर तामाङ, रत्ननगर नगरपालिका–१४ का कुसुमबहादुर राना, रत्ननगर–९ का किशोर तामाङ, रत्ननगर–१४ का डोलबहादुर कार्की र ३८ वर्षीय सुरेश श्रेष्ठ गम्भीर रुपमा घाइते भएका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ का महोन तामाङको अवस्था पनि गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका १२ जना घाइतेको अवस्था मध्यम र एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मध्यम घाइते हुनेहरुमा चितवनको रत्ननगर नगरपालिका–१४ का ४१ वर्षीय पुर लामा, सोही ठाउँका ५५ वर्षीय बुद्धिराम तामाङ, रत्ननगर–१६ का ४४ वर्षीय रेशम पोख्रेल, सोही ठाउँका ४७ वर्षीय दिलबहादुर घिसिङ र काठमाडौंको गोकर्ण–४ की ४८ वर्षीया तारा श्रेष्ठ रहेका छन् ।
नवलपुरको गैंडाकोट नगरपालिका–८ का ५१ वर्षीय लोकराज लामा, ३६ वर्षीय दिवेश शाक्य रत्ननगर–१४ का ५० वर्षीय आइतराम कामी, रत्ननगर–३ का ४४ वर्षीय गोपाल तामाङ, रत्ननगर–१४ का २६ वर्षीय पुष्प तामाङ, त्यही ठाउँका ३८ वर्षीय कृष्ण लामा र रत्ननगर–३ का ४५ वर्षीय जीवन लामाको अवस्था पनि मध्यम छ । चितवनकै रत्ननगर नगरपालिका–१४ का ३३ वर्षीय शंकर परियारको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
बस चालक नवलपुरको गैंडाकोट नगरपालिका–९ बस्ने २६ वर्षीय आशिष परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।