काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल विस्तृत शान्ति सम्झौता विपरीतका कार्यक्रममा समेत सहभागी हुन थाल्नुभएको छ ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले २०६३ साल मंसिर ५ गतेको ‘विस्तृत शान्ति सम्झौता’ उल्घंन हुने गरी कार्यक्रम गर्न थालेको छ । शान्ति सम्झौतामा सरकार र तत्कालीन विद्रोही(राज्यद्वारा आतंककारी घोषित) माओवादीबीच द्वन्दकालीन मुद्दा नकोट्याउने सहमति भएको थियो । मुलुकमा २०५२ साल फागुन १ गतेदेखि राज्यविरुद्ध सशस्त युद्ध संचालन थालेको माओवादी र सरकारबीच २०६३, ०६३ को दोस्रो जनआन्दोलनबाट लोकतन्त्र प्राप्त भएपछि शान्ति सम्झौता र युद्धविराम भएको हो ।
सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष प्रचण्डले हस्ताक्षर गर्नुभएको छ । शान्ति सम्झौताको परिभाषामै ‘दुवै पक्षले जुनसुकै माध्यमबाट समाजमा विध्वंश फैलाउने, उत्तेजित पार्ने एवम् भड्काउने क्रियाकलाप नगर्ने’ भनिएको छ ।
त्यस्तै शान्ति सम्झौताको बुँदा ८ मा राखिएको मतभेद निरुपण तथा कार्यान्वयन संयन्त्रमा ‘दुवै पक्षले विगतमा भए गरेका त्रुटिहरुलाई भविष्यमा नदोहोर्याउने र क्रमिक रुपमा सच्यांउँदै लैजाने’ भन्ने उल्लेख गरिएको छ । तर माओवादी केन्द्रले भने शान्ति सम्झौताका यी प्रावधान विपरीत हुने गरी द्वन्दकालका विभिन्न घटनालाई स्मृति दिवसका रूपमा कोट्याउन थालेको छ । त्यस्ता कार्यक्रममा प्रधानमन्त्री र मन्त्रीहरु नै सहभागी भएर स्मृतिका नाममा द्वन्दकालीन घटना कोट्याउन थालेका छन् । द्वन्दकालीन प्रसंगलाई लिएर राज्य र सुरक्षकर्मीप्रति विभिन्न आक्षेप लगाउने कार्य समेत हुन थालेको छ । यसको ज्वलन्त उदाहरण बनेकाे छ- रामेछापको दोरम्बा काण्डको स्मृतिमा विहीबार आयोजना गरिएको कार्यक्रम । माओवादी केन्द्रको दोरम्बा शैलुङ गाउँपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा टागिएको ब्यानरमा ‘दोरम्बार हत्याकाण्ड स्मृति दिवस’ भनिएको छ । कार्यक्रमको प्रमुख अतिथीको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै सहभागी हुनुभएको छ ।
विस्तृत शान्ति सम्झौतामा उल्लेख गरिएका बुँदा
२०६० साल साउन ३२ गते दाङको हापुरेमा सरकार र माओवादीबीच वार्ता भइरहदा दोरम्बा स्थित शिक्षक युवराज मोक्तानको घरमा पार्टीको बैठक र वैवाहिक कार्यक्रम चलिरहेको थियो । कार्यक्रममा सहभागी भएका जिल्ला स्तरीय नेता तथा कार्यकर्तालाई मेजर राममणि पोखरेलको नेतृत्वमा रहेको रहेको सेनाको गस्ती टोलीले घर घेरा हाली नियन्त्रण लिइएको थियो। सेनाले नियन्त्रणमा लिएका नेता तथा कार्यकर्ताको हात बाध्नुका साथै आँखामा पट्टीसमेत बाधेर दोरम्बा बजार हुँदै डडुवाका डाँडा कटेरीमा लगेर हत्या गरेको थियो । २ जनाको नियन्त्रणमा लिएको घरमा हत्या गरेको थियो भने १९ जनालाइ भने डाँडाकटेरी पुर्याएर गोली हानी हत्या गरेको थियो। दोरम्बा घटना पछि माओवादी वार्ता भंग गरी हिँडेको थियो। तर शान्ति सम्झौतामा दुवै पक्षले विगतका प्रसंग नकोट्याउने भनिए पनि माओवादी केन्द्रले भने वर्षेनी यसलाई गिजोल्दै आएको छ ।
माओवादी केन्द्रले बिहीबार प्रधानमन्त्रीकै प्रमुख आतिथ्यमा दोरम्बामा स्मृति कार्यक्रम राख्यो । कार्यक्रममा सहभागी अधिकाँश वक्ताले विगतको त्रुटिलाई लिएर सुरक्षाकर्मीमाथि गालीगलौज गरे । दाहाल २०६५ सालमा पहिलो पटक प्रधानमन्त्री सेनासँगकै खटपटको कारण पदबाट राजीनामा दिनुपरेको थियो । तत्कालीन प्रधानसेनापति रुक्मागत कटवाललाई प्रावधान विपरीत हटाउने निर्णय गरेपछि दाहालको सेनासँग खटपट भएको हो । प्रधानमन्त्री दाहालले अहिले पनि शान्ति सम्झौता विपरीतका कार्यक्रममा सहभागी भएर फेरि सेनालाई चिढाउन थाल्नुभएको राजनीतिमा टिप्पणी हुन थालेको छ ।