काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालयमा आसन्न पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकको तयारीबारे छलफल भएको छ ।
शनिबर बसेको सचिवालय बैठकमा पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकको तयारी, मुलुकको समसामयिक राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल भएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनु भएको छ ।
एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक भोलिदेखि शुरु हुँदैछ । पार्टी मुख्यालय आलोकनगरमा आइतबार बिहान ११ बजेदेखि शुरु हुने पोलिटब्यूरो बैठक भदौ ४ गतेसम्म चल्नेछ । एकीकृत समाजवादीले पोलिटब्यूरो लगत्तै केन्द्रीय कमिटी बैठक समेत राखेको छ ।
एकीकृत समाजवादीले पार्टी महाधिवेशनबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको हो । एकीकृत समाजवादी स्थापना भएको भदौको पहिलो सातादेखि एक वर्ष पूरा भएर दोस्रो वर्षमा प्रवेश गर्दैछ ।
केन्द्रीय कमिटी बैठक ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्यांक्वेटमा भदौ ५ देखि ७ गतेसम्म हुने एकीकृत समाजवादीले जनाएको छ। समाजवादीले यसपटक बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरुलाई परिचयपत्र अनिवार्य गरेको छ ।
एकीकृत समाजवादी स्थापना भएको भदौको पहिलो सातादेखि एक वर्ष पूरा भएर दोस्रो वर्षमा प्रवेश गर्दैछ । पार्टीको महाधिवेशन गर्ने समय घर्किसकेको छ । पार्टीमा आउँदो माघमा महाधिवेशन गर्नुपर्ने आवाज उठिरहेको छ । त्यसबारे छलफल र निर्णय गर्न एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
एकीकृत समाजवादीले पार्टी स्थापना गर्दा ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । तर त्यस मध्य वरिष्ठ नेता मुकुन्द न्यौपाने, केदार न्यौपाने र चूडामणि जंगलीसहित ३१ जना केन्द्रीय सदस्यहरु एकीकृत समाजवादी छाडेर माउ पार्टी नेकपा एमालेमा फर्किसकेका छन् ।