तीर्थ न्यौपाने / टिप्पणी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधको बाबजुद आज प्रतिनिधिसभा बैठक बोलाइएको छ । प्रधानमन्त्री र सभामुखबीच भएको छलफलपछि प्रतिनिधिसभा बैठक दिउँसो १ बजेको लागि राखिएको हो ।
एमालेले सुन तस्करी प्रकरण छानविनको लागि उच्चस्तरीय स्वतन्त्र न्यायिक समिति बनाउन माग गर्दै साउन १० गतेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध पार्दै आएको छ । संसद अवरुद्ध हुँदा सरकारले तयार पारेका विभिन्न विधयेकमाथि छलफल हुन पाएको छैन । जसको कारण सरकारको काम कारबाही प्रभावित भएको छ ।
प्रतिनिधिसभा राष्ट्रिय र जनसरोकारका समस्या तथा विषय उठाउने र त्यसको समाधान लागि उपाय अबलम्वन गर्ने थलो हो । एमालेले सुन तस्करी प्रकरणलाई लिएर लामोसमय बैठक अवरुद्ध पार्दा जनताका समस्या संसदमा बुलन्द हुन सकिरहेको छ । यही कारण प्रमुख प्रतिपक्ष एमाले मात्र होइन, सत्ता पक्षले समेत जनताबाट आलोचना खेप्नु परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका साना दलले संसद लामो समय अवरुद्ध पार्न नहुने बताउँदै आएका छन् । संसद लामो समय अवरुद्ध भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले पनि यसबारे चासो र चिन्ता लिनुभएको छ ।
राष्ट्रपतिले संसद अवरोध खुलाउनेबारे छलफलका लागि बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शीतल निवास बोलाउनु भएको थियो । राष्ट्रपति र प्रमुख प्रतिपक्ष दलका नेता ओलीबीच संसद खुलाउनेबारे लामै छलफल भएको थियो । राष्ट्रपतिले एमाले अध्यक्ष ओलीलाई संसद अवरोध हटाउन आग्रह गर्नुभएको छ । राष्ट्रपतिले प्रतिपक्ष दलका नेता ओलीलाई भेट्नु अघि संसद खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि छलफल गर्नुभएको थियो ।
राष्ट्रपतिसँग भएको प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दलका नेता ओलीको बेग्लाबेग्लै छलफलपछि संसद सुचारु हुने वातावरण बनेको हो । सुन तस्करी प्रकरण छानविनमा उच्चस्तरीय समिति बनाउनै पर्ने एमालेको अडान छ । तर सत्ता पक्षले भने उच्चस्तरीय समिति आवश्यक नभएको बताउँदै आएको छ । राष्ट्रपतिले प्रधानमन्त्रीलाई उच्चस्तरीय समिति बनाएर भए पनि संसद खुलाउन सुझाव दिनुभएको स्रोतले बताएको छ । स्रोतका अनुसार राष्ट्रपतिको सुझावपछि सरकार उच्चस्तरीय समिति बनाउन सहमत भएको छ । प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेसँगको छलफलमा त्यसको संकेत गरिसक्नु भएको छ । प्रधानमन्त्रीले सभामुखलाई शुक्रबारको भेटवार्तामा सदनको व्यवधान खुलाउन आफूले पहल गर्ने बताउनुभएको थियो। प्रधानमन्त्रीले सभामुखलाई “म सदन खुलाउन भूमिका खेल्छु । तपाईँ पनि लाग्नुहोस् । एमालेसँग केही न केही सहमति त गर्नै पर्ने भयो, छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु” भन्नुभएको थियो । संसद खुलाउन त्यसपछि प्रधानमन्त्री र सभामुखबीच शनिबार पनि छलफल भएको छ । शनिबारको छलफलपछि सभामुखले प्रतिनिधिसभा बैठक आइतबार दिउँसो लागि बोलाउनु भएको हो ।
आइतबार दिउँसो लागि बोलाइएको प्रतिनिधिसभा बैठकबारे एमालेले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन । आजको बैठकमा एमालेको भूमिका कस्तो रहला ? राजनीति वृतमा कौतुहल्ताको विषय बनेको छ ।