काठमाडौं । पूर्वप्रधामन्त्री तथान नेकपा एमालेका अध्यक्ष केपी ओलीले हरेक कार्यक्रमको मन्तव्यमा प्रायः कोही न कसैलाई छेडछाड गर्दै आउनुभएको छ ।ठट्यौली पारामा घोचपेच गर्ने ओलीको शब्द तीरले बुधबार भने आफ्नै नेता सुवास नेम्वाङलाई लागेको छ ।
ओली एमालेको संसदीय दलका नेता हुनुहुन्छ, पूर्वसभामुख समेत रहनुभएका नेम्वाङ संसदीय दलको उपनेता । कानुनी सन्दर्भमा आफूलाई दह्रोसँग साथ दिने भएकोले ओलीले नेम्वाङलाई संसदीय दलको उप नेता बनाउनुभएको हो । बोली जस्तै कार्यशैलीमा पनि प्रायः चिप्लिने ओलीलाई नेम्वाङले आफ्नो बलबुताले भ्याएसम्म जोगाउने प्रयास गर्नुहुन्छ । नेम्वाङको त्यही विशेषताको कारण ओलीले उहाँलाई बोक्ने र महत्वपूर्ण जिम्मेवारी दिने गर्नुभएको हो ।
सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय समिति बनाउनै पर्ने अडान लियो, अडानमा अडिक रहँदै लगातार संसद अवरोध पारेरै भए पनि सत्ता पक्षलाई गलायो । शुरुमा उच्चस्तरीय समिति बनाउनु आवश्यक नरहेको बताउँदै आएको सत्तापक्ष अन्तत प्रतिपक्षको माग पूरा गर्न बाध्यभयो । सोमबार राति सत्तापक्ष र प्रतिपक्षबीच उच्चस्तरीय समिति बनाउने सहमति भयो । त्यसको लागि ३ सदस्यीय कार्यदल बनाइयो । सत्तारुढ दलबाट नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा माओवादी केन्द्रका प्रमु्ख सचेतक हितराज पाण्डे रहनुभएको कार्यदलको संयोजक जस्तै भूमिकामा एमालेबाट नेम्वाङलाई नै राखिएको छ । कार्यदलले उच्चस्तरीय समितिको टीओआर तय गर्ने जिम्मेवारी भएको छ । साथै सहमति कार्यन्वयनको लागि अन्य विभिन्न ड्राफ्ट गर्ने जिम्मेवारी पनि कार्यदललाई नै दिइएको छ ।
त्यही अनुसारर कार्यदलले बुधबार सुन तस्करी छानविनको लागि एक महिनापछि बन्ने जाँचबुझ आयोग गठन सम्बन्धी ड्राफ्ट समेत तयार पारेको छ । एमाले अध्यक्ष ओलीले जाँचबुझ आयोग गठनको कार्यादेश र मस्यौदा बनाउन पार्टीका तर्फबाट उपाध्यक्ष नेम्वाङलाई लाई खटाउनुभएको छ । स्रोतका अनुसार कार्यदलले ड्राफ्ट बनाएपछि आआफ्ना शीर्ष नेताहरुलाई मंगलबार साँझ नै देखाएका छन् । नेम्वाङले पनि कार्यदलले तयार पारेको ड्राफ्ट ओलीलाई मंगलबार साँझ बालकोट पुगेर देखाउनुभएको थियो । तर बुधबार ११ बजे सिंहदरबारमा राखिएको सर्वदलीय बैठकमै ओली र नेम्वाङबीच त्यही ड्राफ्टलाई लिएर केही घोचपेच भएको छ ।
बैठकमा सहभागी नेताहरुका अनुसार ओलीले ‘ड्राफ्ट हेरेपछि ओलीले सबैका सामू नेम्वाङतिर हेर्दै– के लेख्या यस्तो ? यस्तै हुन्छ सहमतिको ड्राफ्ट ।’ लेख्न त नेपालीमै लेख्या हो । अलिक भाषा सिकाउनुपर्ने जस्तो छ’ भन्नुभयो । ओलीको प्रस्तुतिले नेम्वाङले असहजता महशुस गर्नुभयो । त्यसपछि नेम्वाङले पनि ओलीतिर नेहेरी– लेख्नुपर्ने कुरा त्यहीँ लेखेको छ । भाषाको ज्ञान हुनेहरुले आफैं बुझ्नुपर्ने हो’ भन्दै जवाफ फर्काउनुभएको छ ।
ड्राफ्टमा २ बुँदे सहमति उल्लेख गरिएको छ । तर त्यसमा ओलीलाई कुन शब्द वा प्रसंगमा चित्त नबुझेको हो ? उहाँले त्यो भने खुलाउनु भएन ।