काठमाडौं । भारतले पठाएको अन्तरिक्षयान चन्द्रमामा अवतरण भएको छ । चन्द्रयान ३ भारतीय समय अनुसार बुधबार साँझ ६ बजेर ४ मिनेट चन्द्रमामा अवतरण गरेको हो ।
अन्तरिक्षयान अवतरणपछि प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो) को नियन्त्रण कक्षबाट सम्पूर्ण भारतीयलाई बधाई दिँदै यो क्षण अविश्मरणीय र अभूतपूर्व रहेको बताउनुभयो ।
चन्द्रयान ३ अवतरण भए लगत्तै भारतभर खुशीयाली मनाइएको छ । चन्द्रमाको सतहमा यो नै भारतको पहिलो नियन्त्रित अवतरण हो। दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्षयान सफल अवतरण गराउँदै इतिहास भारतले रचेको छ।
वैज्ञानिकहरूले अवतरणअघिको अन्तिम १५ मिनेट समयलाई निकै महत्त्वपूर्ण एवं त्रासपूर्ण बताएकाले त्यो अवधिलाई व्यग्रताका साथ संसारभरबाट हेरिएको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार चन्द्रयान(३ को एउटा मुख्य उद्देश्य बरफको खोजी गर्नु हुनेछ। पानीको स्रोतका रूपमा बरफ फेला परे भविष्यमा चन्द्रमामा मानव बसोबासलाई सहयोग पुग्ने वैज्ञानिकहरू बताउँछन्।
अगस्टको शुरुतिर चन्द्रमाको कक्षमा प्रवेश गरेसँगै त्यसमा रहेको ल्यान्डर विक्रमले चन्द्रमाको सतहका तस्बिर पठाइरहेको छ। चन्द्रयान ३ को सफल अवतरणसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश र सफलतापूर्वक चन्द्रमाको सतहमा पुग्ने चौथो देश बनेको छ।
यसअघि अमेरिका, तात्कालिक सोभियत सङ्घ र चीन सबैले ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको मध्यरेखा वरपर आफ्नो अन्तरिक्षयान अवतरण गराइसकेका छन् ।
यान चन्द्रमामा अवतरण भए लगत्तै भारतलाई विभिन्न देशबाट बधाईको ओइरो लाग्न थालेको छ । नेपालबाट यान अवतरण भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपालले बधाई दिनुभएको छ ।