काठमाडौं । राजनीतिमा चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिमा उम्मेदवारी दिनेभएको छ ।
रास्वपाको शुक्रबार बेलुकी बसेको संसदीय दल बैठकले आफ्नो क्षमताले भ्याउने सबै विषयगत समितिको सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छ । उम्मेदवारी दिन उम्मेदवारसहित प्रस्तावक र समर्थक गरी ३ जना अनिवार्य चाहिन्छ । रास्वपाले त्यसमा क्षमताले भ्याउने सबै समितिमा सभापतिका लागि दाबी गर्ने निर्णय गरेको हो ।
पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बैठकपछि सञ्चारकर्मीहरुलाई भदौ ११ गते हुने संसदीय समितिको सभापतिका लागि क्षमताले पुग्ने समितिमा नेतृत्वका लागि उम्मेदवारी दिने र क्षमता नपुग्ने समितिका लागि आन्तरिक छलफल गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
‘११ गते हुने संसदीय विषयगत समितिका सभापतिहरुको निर्वाचन, हामीले यो अधिवेशनमा प्रस्ताव गरेका संकल्प र सार्वजनिक महत्वका विषयहरु र आगामी संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीले खेल्नुपर्ने भूमिका विषय थियो, उहाँले भन्नुभयो ‘सभापतिको विषयमा पार्टीले जहाँ आफ्नो क्षमताले भ्याउँछ, त्यहाँ हामीले उम्मेदवारी दिने, अन्य समितिमा एक खालको आन्तरिक छलफल गर्नेछौं।’
रास्वपाको संसदीय दल बैठकमा घरपालुवा चौपायमा महामारीको रुपमा रहेको लम्पी स्किन रोगबारे पनि छलफल भएको छ । सभापति रवि लामिछानेले लम्पी स्किनसम्बन्धी सार्वजनिक महत्वको विषय भदौ १७ गतेपछि बस्ने संसदको बैठकमा छलफलमा उठाउनु बताउनु भएको प्रमुख सचेतक परियारले जानकारी गराउनु भयो । ‘पार्टीका सभापति रवि लामिछानेले लम्पी स्किनसम्बन्धी सार्वजनिक महत्वका विषय जो राख्नुभएको छ, त्यो संसदमा छलफलमा अघि बढाउने, १७ गतेपछिको संसदमा छलफल गर्नेछौँ’ उहाँले भन्नुभयो ।
पार्टीका उपनेता विराजभक्त श्रेष्ठले डेंगु रोग सम्बन्धी संकल्प प्रस्ताव दर्ता गरेको र त्यसलाई पनि संसदमा छलफल गर्ने निर्णय भएको प्रमुख सचेतक परियारको भनाई छ । ‘पार्टीका उपनेता विराजभक्त श्रेष्ठले संकल्प प्रश्ताव दर्ता गर्नुभएको थियो, डेंगु रोग सम्बन्धी त्यो पनि राजनीतिक पार्टीसँगको अनौपचारिक छलफलमा संसदमा अब प्रक्रियामा लैजाने भन्ने छ ’ उहाँले भन्नुभयो ।
प्रमुख सचेतक परियारले बैठकमा निर्वाचन क्षेत्र विकास कार्यक्रममा विनियोजन विधेयकमा सरकारले छुट्याएको बजेटबारे सर्वोच्च अदालतबाट आएको आदेशको स्वागत गरिएको बताउनुभयो