–केशवराज आमोदी
वि.सं. १९९८ वैशाख २४ गते मङ्गलवार कालिका नगरपालिका–९, शेरबासमा माता विष्णुकुमारी ढुङ्गाना र पिता झरेन्द्रबहादुर ढुङ्गानाका पुत्ररत्नका रूपमा 'चितवन शिखरबास' उर्फ हरिबहादुर ढुङ्गानाको जन्म भएको हो । सम्प्रति खैरहनी नगरपालिका–१२ घोकरेहरा (पूर्व चितवन) लाई स्थायी बसोबास बनाउँदै आएका चितवन शिखरबास स्वाध्यायन र निजानुभूतिले खारिएका व्यक्तित्व हुन्।
बहुप्रतिभाशाली कवि शिखरबासले कविता, कथा, आत्मसंस्मरण तथा गीतहरू लेखेर नेपाली साहित्यको फाँटलाई हराभरामात्र तुल्याएका छैनन् किन्तु हिन्दी भाषामा पनि सुललित, सुकोमल, रसरागमयी सुन्दर रचना गरेर आफ्नो प्रतिभाको यथेष्ठ परिचय दिएका छन् । सुनिन्छ हिन्दी चलचित्र ‘पागल’ के लागि पटकथा र गीत लेखेर कुशल फिल्मी गीतकार बन्नसमेत सफल भएका थिए । कथाकार, काव्यकार र गीतकार चितवन शिखरबासका वि. सं. २०२५ देखि २०७५ सालसम्म प्रकाशित कृतिहरूको विवरण यस प्रकार देखिन्छ–
१. मनको रन्को – पहिलो भाग ( २०२३ ) , काठमाण्डौं
२. कस्को स्वास्नी–खण्डकाव्य(२०२५,दो.संस्क.२०७६)चितवन
३. राष्ट्रकवि – कथासङ्ग्रह ( २०२६ ) , काठमाण्डौ
४. बुद्धिको कमजोडी – कथासङ्ग्रह ( २०२६ ) नारायणगढ
५. तिलाञ्जलि–कवितासङ्ग्रह (२०३५,दो.संस्क.२०७४)भरतपुर
६. मनको रन्को – तेस्रो भाग ( २०५४ ) नारायणगढ
७. नेपाल आमाको शुभेच्छा–कथासङ्ग्रह ( २०७५ ) चितवन
८. एकोहोरो माया – कथासङ्ग्रह ( ? )
९. तुम्हारी तलास लिए –हिन्दी गीतसङ्ग्रह ( २०७५ )
‘मनको रन्को’ दोस्रो भाग र ‘जवानीको रङ्ग’ अप्रकाशित रहेका छन् । यसै गरी सुन्नमा आए अनुसार शेरबास वा घोकरेहरा , चितवनदेखि बम्बई , महाराष्ट्र तथा पश्चिम बङ्गाल आदिका स्थानगत भाषिक सङ्गतले गर्दा विलक्षण प्रतिभाशाली शिखरबासले थारु , माझी , चेपाङलगायत हिन्दी , उर्दू र बङ्गाली भाषामा समेत रचना गरेका थिए कि भन्ने आशङ्काले थप अनुसन्धानको विषय बन्न पुगेको छ । उनकी छोरी निरूपा प्रसून (निरूपा ढुङ्गाना) ले पनि बाबुको साहित्यिक यात्राको अनुसरण गर्दै बेंडो थामिरहेकी छन् ।
साहित्यिक सृजन–यात्रावधिमा कविवर चितवन शिखरबास २०२५ सालमा चितवनमा आयोजित साहित्यिक समारोहमा प्रथम भई स्वर्णपदकद्वारा पुरस्कृत–सम्मानित भएझैं सन् २००३ मा भारतीय राजदूताबास काठमाण्डौंबाट ’हिन्दी में अच्छे लेखन के लिए’ भनी नगद राशिसहित प्रमाणपत्रले सम्मानित भएका छन् । त्रिमूर्ति निकेतनद्वारा २०६९ सालमा नगदराशिसहित ताम्रपत्रद्वारा , २०७१ सालमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकीका सन्दर्भमा नेपाल सरकारद्वारा नगद राशिसहित ताम्रपत्रद्वारा एवम् २०७३ सालमा कलानाथ स्मृति प्रतिष्ठान नेपालद्वारा सम्मानित हुने शुभावसर प्राप्त गरेका छन् । यस समीक्ष्यमा कस्को (की ?) स्वास्नी’ खण्डकाव्यको सङ्क्षिप्त परिचर्चा गरिने छ ।
कस्को स्वास्नी–खण्डकाव्य (२०२५) नामले पहिलो संस्करण प्रकाशित भएकामा २०७६ को दोस्रो संस्करणमा भने कृतिको नाम हल्का बदलेर मोटा अक्षरमा मूल शीर्षकमा ‘कस्को–सम्पत्ति’ र तेसैको तलतिर साना अक्षरमा ‘पत्नी पीडित–महाकाव्य’ भनी अग्र–आवरणमा दिनुले वस्तुतः यो कृति खण्डकाव्य वा महाकाव्य के हो त ? भन्ने प्रश्न स्वयम् कृतिकारबाट नै उब्जिए पनि पारम्परिक काव्य लक्षणमुताविक खण्डकाव्यको कोटिमा राखी अध्ययन गर्नु समीचीन हुनेछ ।
काव्यको अन्तःचेतनामा आदर्शवाद र अस्तित्ववादको प्रतिच्थिछाया रहे पनि बाह्यिक संदृष्टिमा भने यथार्थवाद र प्रतीकवादको रमरम झुनझुनाहट पाइन्छ । शेरबास (शिखरबास ?) शक्तिखोर जुटपानी, कायर खोला, गुरौ चउर, भटेनी’ खैरेटे र घोकरेहराजस्ता स्थानगत नामिक पदावलीयुक्त सन्दर्भले आञ्चलिकताको परिदृश्य र परिवेशलाई उजिल्याएको छ ।
चितवनका सनिदर्भमा खण्डकावको चर्चा गर्दा प्रारम्भिक अवस्थाको साहित्यिक समुत्थानमा सिद्धहस्त काव्यकार चितवन शिखरबासको महत्वपूर्ण योगदान रहेको दृष्टगोचर हुन्छ । यिनको ‘कस्को सम्पत्ति’ (नाम परिवर्तन) चितवनको पहिलो खंण्डकाव्य रहे पनि नारायणदत्त शास्त्रीको ‘सङ्घर्षको जीवन’ खण्डकाव्यलाई पहिलो गुथाउनु स्वाभाविक नै होला ।
खण्डकाव्यको भूमिकाको पृष्ठमा स्वयम् कृतिकारले नै खण्डकाव्य संरचना गर्नुको कारण, उद्देश्य वा प्रयोजनका बारेमा प्रकाश पारेका छन् । दुई खण्डमा विरचित काव्यमा समाजमा आएको आर्थिक, सामाजिक र राजनीतिक उतारचढावभन्दा आफूले प्राणभन्दा प्यारो ठानिएकी, सती सावित्री मानिएकी वा अनसूयाजस्तै पतिव्रताको जलप लगाइएकी रूप–लावण्य र बैंसले धपक्क बलेकी तारुण्यावस्थाकी श्रीमती (काव्यकी नायिका) अकस्मात् घाम डुबे पछि उज्यालो हराएझैं कतै अल्पिंदा आफूले जीवनभर अर्पिएको अपार प्रणयानुराग र हार्दिक विश्वासलाई तिलाञ्जलि दिई परपुरषसँग यौनिक सम्बन्ध गाँस्न पुगेकीमा काव्यनायकले उधुम असन्तुष्टि र उत्पात आक्रोश प्रकट गर्दै कोक्किंदै र झोक्किंदै जुटपानीको चौतारोलाई जुरुक्क उचालेको छ । समग्र काव्य यिनै उहापोहमा रुमलिंदै कतै अनुराग र आकुलता, आवेश र अभिद्रोह अभिरमण र अभिक्रोशजन्य उच्छालका बिम्ब प्रतीक उपमा र उत्प्रेक्षाका वैचारिक रूपविन्यासबाट लिपिक्क लिपिएको छ ।
‘जुटपानी र जुटपानीको चौतारो’ नै काव्यनायकको अन्तर्हृदयको भावोद्घाटन वा परिघटित घटनाको अप्रत्याशित केन्द्र बनेको छ र यसैसँग जोडिएका गाउँठाउँहरु परिधि बनेका छन् । जुटपानीको चौतारो आञ्चलिकताको नाट्य–मञ्च भएको छ । काव्यनायिकाको विरह र विद्रोहको भुङ्ग्रोमा तड्पिंदो काव्यनायकको अरण्यरोदनप्रति गाउँले वा सिङ्गो समाज मौन दर्शक भएर उभिएको छ ।
काव्य यिनै तानाबानामा अल्झिएको छ । काव्यकारले आफ्ना भावक–पाठकलाई यी सब ’कपोल ’कल्पित घटना हुन् कसैसँग मेल खाएमा संयोगमात्र हुने’ भन्दै आस्वस्थ तुल्याउँदै ‘जुटपानीकी नगरबधू’ का रूपमा ओर्लिएकी काव्य नायिकाको कठोर कदमप्रति अपार अनुराग र विद्वेष, घोर पीडा र आक्रोश अनि असीम प्यार र उत्ताप प्रकट गरेका छन् । विचार संप्रेणका क्रममा सत्तालिप्सु शोषक र सामन्तीप्रति अप्रत्यक्ष कटाक्षका सुइराहरूले मर्मभेदन गर्न पनि त्यति चुकेका देखिदैनन् । यथा–
स्वर्गबाट कार्लाक्र्सले
तँलाई सरापेका छन्
क्रान्तिद्रष्टा लेनिनले
तलाई गोली ताकेका छन्
अहिंसा र सत्यका पुजारी
महात्मा गान्धीले तलाई थुकेका छन्
शान्तिका अग्रदूत बुद्धले
तलाई घातकी, पातकी भनेका छन्
महाकवि लक्ष्मीप्रसाद देवकोटाले
तलाई समाजबाट बाहिर निकालेका छन् ।
काव्य एकप्रकारले पुरै मुक्तछन्दमा संरचित छ । विद्रोहका ज्वारभाटाहरू यत्र तत्र छिरोलिएका छन् । काव्यमा प्रेम–प्रणयका अतृप्त उच्छ्वासहरूमात्र पोखिएका छैनन् अपितु समाज परिवर्तन र राष्ट्र प्रेमका समुज्जव समुद्गारहरू पनि मुखरित भएका छन् ।
कवितात्मक शैलीको अर्को एउटा सुन्दर नमुना प्रस्तुत छ–
स्थितिको परिवर्तन
विचारमा भिन्नता
अलौकिक त्याग र कर्मठता
आत्मबल आत्मविश्वास
लहराउँछ फहराउँछ
अनि फेरि
समाज सुधार आउँछ ।
बाटो बन्छ
पुल बन्छ
स्कुल घरको निर्माण हुन्छ
समयको मोटाइमा गोलाइमा
एकछिन मानिस निश्चिन्त भएर
सुकर्ममा लाग्छन्
त्यसै क्षणमा
गाउँघरको विकास हुन्छ
देशको उन्नति बढ्छ ।
अन्त्यमा कवि एवम् कथाकार चितवन शिखरबास उर्फ हरिबहादुर ढुङ्गानाको कवितात्मक शैली र शिल्प सरल सरस र सुबोध रहेको छ। कायर खोलाको भुलभुले मूलको जलतरङ्गझैं कुकुलाउँदै प्रवाहित भएको छ। समसामयिक नेपाली व्याकरण र काव्यिक दृष्टिकोणले पद र पदावलीहरूमा केही शिथिलता देखिए पनि भाव विनिमयको चातुर्यता र समय–सन्दर्भले कृति पठनीय रहेको छ। कवितात्मक छनकहरू कतै मर्मिक र करुणाले भंरिएका छन्, कतै वितृष्णा र विद्रोह उरालिएको छ।
चितवनको खण्डकाव्यको विकासमा चितवन शिखरबासको योगदानलाई कदर गरी उहाँको ५ औं स्मृति दिवसमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै लेखनी थाम्दछु।