काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र कोशीमा आफ्नो मुख्यमन्त्री बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पकाउने प्रयत्नमा लागेको छ । त्यसको लागि माओवादीले आफूले पाएको एउटा संसदीय समितिको सभापति राप्रपालाई छाडेको छ ।
माओवादीले पूर्वाधार विकास समितिको सभापति राप्रपालाई छाडेको हो । स्रोतका अनुसार माओवादी केन्द्रले कोशी प्रदेशको मुख्यमन्त्री ताक्दै संसदीय समितिको सभापति राप्रपालाई छाडेको हो ।
पूर्वाधार विकास समितिको सभापति राप्रपका सांसद दीपक सिंह उम्मेदवार बन्नुभएको छ । माओवादीका तर्फबाट सभापतिका उम्मेदवार माधव सापकोटा चाहिँ सिंहको प्रस्तावक बन्नुभएको छ ।
सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागवण्डामा माओवादीले पूर्वाधार विकास र कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति पाएको थियो । माओवादी केन्द्रबाट सापकोटा पूर्वाधार विकास र विमला सुवेदी कानुन समितिको सभापतिको उम्मेदवार बन्ने तय भइसकेको थियो । स्रोतका अनुसार राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर संसदको पाँचौ दल भएकाले एउटा समितिको नेतृत्व आफूहरुले पाउनुपर्ने माग गरेपछि माओवादीले सभापति छाडेको हो ।
स्रोतका अनुसार प्रधानमन्त्री दाहाल राप्रपा उपाध्यक्ष तामाङबीच कोशी प्रदेशमा अहिलेका नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्नुभएका उवद्ध थापा पहिला जस्तै अदालतबाट पद मुक्त भए त्यसपछि माओवादीको नेतृत्वमा प्रदेश सरकार बनाउन राप्रपाले सहयोग गर्ने सहमति भएको छ ।
कोशीको मुख्यमन्त्रीको विश्वासको मतविरुद्ध रिट सर्वोच्च अदालतमा सुनुवाइपछि फैसलाको लागि विचाराधिन अवस्थामा छ । सर्वोच्चले रिट सुनुवाइ गर्दै कोशी सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न अन्तरिम आदेश दिइसकेको छ । रिटमा फैसला हुन साथ कांग्रेस नेतृत्वको प्रदेश सरकार ढल्ने निश्चित प्राय: छ । उता सत्ता गठबन्धनमा प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति यसअघि नै भइसकेको छ ।
गठबन्धनको सहमति अनुसार प्रदेश सरकारको नेतृत्व कांग्रेसपछि माओवादी केन्द्रले लिने सहमतिमा उल्लेख छ । ९३ सदस्यीय प्रदेशसभामा ६ सांसद रहेको राप्रपा कोशीको प्रदेश सरकार टिकाउन र ढाल्न सक्ने निर्णयक भूमिकामा छ ।