काठमाडौं । संघीय संसद् प्रतिनिधिसभामा सीमा समस्यादेखि लम्पी स्कीनसम्मका सवाल उठेको छ ।
सांसदहरुले मंगलबारको बैठकमा भष्ट्राचारका मुद्दामा गम्भीर छानबिन हुनुपर्नेदेखि नागरिकका जनजीविकामा देखिएका समस्याका विषय उठेका छन् ।
वर्षायाममा हुने बाढीपहिरो तथा डुबानको समस्या र त्यसबाट प्रभावितलाई क्षतिपूर्ति, पशुचौपायामा देखिएको लम्पी स्कीन पीडित किसानलाई क्षतिपूर्ति, डेङ्गु लगायत रोगको नियन्त्रण, सडक तथा पुललगायत पूर्वाधार निर्माणमा भएको ढिलासुस्ती लगायतका विषय संसद्मा उठेका हुन् । बैठकमा सांसद प्रेम सुवालले भारतसँगको सीमा नाकामा नेपालीले भोग्नुपरेका समस्या उठाउनुभयो । गएको साता कञ्चनपुरको दोधारा–चाँदनी र टनकपुर क्षेत्रमा स्थलगत अवलोकनमा जाँदा भारतीय सुरक्षा बलले पूर्व जानकारी बिना आएको भन्दै अवरोध गरेको उहाँले बताउनुभयो
सांसद डा अमरेशकुमार सिंहले नातागोता र परिवारवादले प्रशय पाउन नहुने बताउनुभयो । भष्ट्राचार प्रकरणको प्रभावकारी छानबिन हुन नसकेको र केही शक्तिशाली व्यक्ति मुछिँदा उन्मुक्ति मिलिरहेको उहाँको आरोप थियो ।
सांसद ठाकुरकुमार गैरेले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति र उपकरण उपलब्ध नरहेको विषय पनि उहाँले उठाउनुभयो ।
सांसद अशोककुमार चौधरीले पशु चौपायामा देखिएको लम्पी स्कीन रोग नियन्त्रणका लागि सरकार र मातहतका निकायले प्रभावकारी कदम चाल्न नसहेको बताउनुभयो । किसानलाई उचित क्षतिपूर्तिका लागि पनि उहाँले सरकारसँग माग राख्नुभयो ।
सांसद गङ्गाराम चौधरीले सरकारले धानको न्युनतम समर्थन मूल्य तोके पनि त्यसको कार्यान्वयन हुन नसकेको र किसान सधैँ पीडित भइरहेको बताउनुभयो ।
सांसद राजेन्द्रकुमार केसीले गिरिबन्धु–टीस्टेट प्रकरण, यति–ओम्नी प्रकरणको छानबिनका लागि माग गर्नुभयो । भष्ट्राचार विकासको बाधक हो भन्ने कुरा ध्यानमा राखेर सत्तापक्ष र प्रतिपक्ष दुवैले भष्ट्राचार निवारणमा एकजुट हुनुपर्ने उहाँको भनाइ छ ।
सांसद दीपा शर्माले संसदमा दर्ता भइसकेका विधेयक चाँडो पारित गरेर कार्यान्वयनमा ल्याइनुपर्ने बताउनुभयो । नागरिकका समस्या समाधानका लागि सरकार र संसद् दुवै जिम्मेवार भएर लाग्नुपर्ने उहाँको भनाइ छ ।
सांसद चन्दा चौधरीले नेपालका शिक्षालयमा शिक्षा शुल्क महँगो भएको विषय संसदमा उठाउनुभयो । आर्थिक रुपमा कमजोर व्यक्तिका लागि शिक्षादिक्षा लिनै सकस भइरहेको उहाँको भनाइ छ । सांसद प्रेमबहादुर महर्जनले जनैपूर्णिमा, गाईजात्रा लगायत चाडपर्व आइरहँदा काठमाडौँ उपत्यकाभित्रका मठमन्दिर र शक्तिपीठको व्यवस्थापनका लागि सम्बन्धित निकायले पहल गर्नुपर्ने बताउनुभयो ।