काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले एकै पटक धेरै कानुन संशोधन गर्न खोजेर संसदलाई हेपेको बताउनुभएको छ ।
कांग्रेस महामन्त्रीस् थापाले मंगलबार प्रतिनिधिसभामा गणतन्त्र आएपछि एकै पटक धेरै कानुन संशोधन गर्न थालिएको र २०७४ पछिको सरकारले यसको दुरुपयोग गरेको उल्लेख गर्नुभयो । ‘‘यसरी ऐन ल्याउनु भनेको हिजो पनि संसदलाई हेपेको हो । आज पनि संसदलाई हेपेको हो’ बैठकमा उहाँले भन्नुभयो – संसदीय व्यवस्थामा सरकारलाई के लाग्छ भने म सँग बहुमत छ, मैले जे ल्याए पनि पारित हुन्छ भन्ने लाग्छ । यो हामीलाई हेपेको हो, हामी हेपिने कि नहेपिने यसपटक देखाउनुछ ।’
कांग्रेसका युवा नेता थापाले जघन्य अपराधमा संलग्नलाई पनि जोगाउने गरी कानुन बनाउन लागिएको भन्दै आपत्ति जनाउनुभएको छ । ‘‘जघन्य अपराधमा संलग्नलाई जोगाउने गरी जुन प्रावधान ल्याएको छ, कांग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु’ उहाँले भन्नुभयो – राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणको व्यवस्था हामीलाई स्वीकार्य छैन’ उनले भने, ‘माननीय कानुनमन्त्रीलाई आग्रह छ । यो २०७४ सालपछिको सरकारले लेखेको ड्राफ्ट हो, यसको भारी नबोक्नुस् यसलाई बिसाउनुस् ।’
महामन्त्री थापाले सरकारले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) वन मन्त्रालयले स्वीकृत गर्नुपर्ने व्यवस्था संशोधन गरेर वन विभागले स्वीकृत गर्ने व्यवस्था विधेयकमा राखेको भन्दै त्यसप्रति पनि आपत्ति प्रकट गर्नुभयो । ‘ईआईए विभागबाट गर्ने भनिएको छ, मन्त्रालयले मान्दैन, वातावरणविद्ले मान्दैनन्, कसको स्वार्थमा ल्याइएको हो ?’ उहाँले सरकारप्रति प्रश्न गर्नुभयो – यो विधेयकमा वैदेशिक रोजगार बोर्डका निमित्त कार्यकारीको कार्यकाल अनन्तकालसम्म लम्ब्याउन मिल्ने प्रावधान राखिएको छ । ‘जुन जुन मन्त्रीलाई जे जे गर्नुछ, साविकको बाटोबाट पारित हुँदैन, अनि यसरी घुसाउने ।’
२०६५ सालदेखि संसदमा प्रतिनिधित्व गर्दै आउनुभएका थापाले सरकारले यो विधेयकमार्फत गरेको व्यवस्थामाथि छलफल गर्नुपर्ने लामो सूची रहेको भन्दै त्यसको तयारी गरेको समेत बताउनुभयो । ‘‘सबको तयारी गरेका छौं, समतिमा भेटौंला, त्यहाँ जमेर यसमा लडौंला पनि’ उहाँले भन्नुभयो– ‘हामीलाई हेपेको स्वीकार्य हुन्न यो, विधेयकमा यति धेरै प्रश्न छन् कि, यो विधेयकमा मात्र होइन, जसरी संसद र सांसदलाई व्यवहार गरिएको छ, जे गरे पनि हुन्छ भन्ने ठानिएको छ, सम्माननीय प्रधानमन्त्रीजी अब नयाँ ढंगले कुराहरुको सामना गर्न तयार हुनुहोला ।’